तानसेन (पाल्पा) जिल्लाका महिलाहरुले उत्साहका साथ मादल बजाउने सीप सिक्न थालेका छन् । विभिन्न स्थानीय तह र सांस्कृतिक संस्थाले सञ्चालन गरेका तालिममा महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको छ । तालिममा सहभागी महिलाहरूले मादल बजाउने कला सिकेर सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा विभिन्न सामाजिक अवसरमा आफ्नो प्रतिभा प्रस्तुत गर्न थालेका छन् ।
जिल्लाको तानसेन नगरपालिका, माथागढी गाउँपालिका,तिनाउ गाउँपालिकाका वडाहरुले महिलाहरुलाई मादल बजाउने तालिम दिएपछि अहिले उनीहरुले प्रतिभा प्रस्तुत गर्न थालेका छन् । सीपले महिलाको आत्मविश्वास बढाउनुका साथै नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा टेवा पुगेको उनीहरूको भनाइ छ । तालिम लिएसँगै तानसेन –३ की मञ्जु श्रेष्ठले भनिन्, “छोराको बिहेमा मादल बजाउन जान्ने मानिस अब खोज्न नपर्ने भयो, आफू र टोलका दिदीबहिनीले मादल बजाउन जान्ने भएपछि कसैको आवश्यकता नपर्ने भयो ।” तालिमबाट झ्याउरे, रत्यौली, तिज गीत, भजन, देउसी र भैलोमा मादल बजाउन सक्षम भएको उनले बताइन् । श्रेष्ठले नेपाली संस्कृतिमा मादलको प्रयोग धेरै हुने भएकाले तालिम फलदायी भएको उल्लेख गरिन् ।
श्रेष्ठ मात्र हैन तानसेन नगरपालिका वडा नं. २, ३, ७, ९, माथागढी गाउँपालिका वडा नं. ३ र तिनाउ गाउँपालिका वडा नं. ५ का दुई सय ५० भन्दा बढी महिलाहरुले मादल बजाउन सिकेको प्रशिक्षक तथा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान पाल्पाका अध्यक्ष रुपेश कार्कीले बताए । उनका अनुसार पछिल्ला वर्षहरूमा महिलाहरूको रुचि उल्लेखनीय रूपमा बढेको छ । नियमित अभ्यास र प्रशिक्षणका कारण उनीहरूले छोटो समयमै झ्याउरे, रत्यौली, तिज गीत, भजन, देउसी र भैलो गितमा मादल बजाउन सक्ने भएको प्रशिक्षक कार्कीले बताए ।
स्थानीय मौलिक कला संस्कृतिको संरक्षण हुने र महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले वडाबाट मादल बजाउने तालिम दिइएको तानसेन –३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले बताए । उनले भने “पछिल्लो समय महिलाहरु घरायसी काम र सामाजिक सञ्जालमा मात्र व्यस्त हुने गर्दछन्, उनीहरुलाई सीप सिकाएर सक्षम बनाउन तालिम फलदायी हुने हाम्रो विश्वास छ ।” आर्थिक वर्ष २०८२/०८३ मा एक लाख बजेट विनियोजन गरेर वडा भित्रका २२ वटा टोल विकास समितिमा आवद्ध महिलाहरुलाई टोलविकास संस्थामार्फत तालिम प्रदान गरिएको अध्यक्ष शाक्यले बताए । नेपाली लोक धुन र परम्परागत बाजामा मादलको प्रयोग बढी हुने गर्छ । अर्कोतर्फ तिहारलाई विशेष गरी बत्ती र सङ्गीतको चाड मानिन्छ । तिहारमा प्रत्येकको घरमा बत्ती बाली आँगनमा मादलको धुनसहित देउसी–भैलो खेल्ने गरिन्छ । रत्यौली र तिहारमा मात्र नभई पूजाआजा, व्रतबन्धजस्ता चार्डपर्वमा पनि मादल बजाउने गरिन्छ ।


