पाल्पा, देशका ११ जिल्लामा बर्डफ्लु संक्रमण रहेको पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको हो ।
पहिलो पटक मोरङमा देखिएको बर्डफ्लु झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म सङ्क्रमण फैलिएको हो । सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा पक्षी नष्ट गरिएको छ । त्यस्तै नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक हजार ९५४ दशमलव ८५ क्विन्टल दाना पनि नष्ट गरिएको छ । विभागका अनुसार हालसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै बारा, महोत्तरी, चितवन र नवलपरासीमा सङ्क्रमण नियन्त्रणमा आइसकेको छ । तर काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका केही क्षेत्रमा सङ्क्रमण अझै देखिइरहेकाले विशेष निगरानी बढाइएको विभागले जनाएको छ । विभागले पन्छीपालक किसानलाई फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) का मापदण्ड कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनःप्रयोग नगर्न, ढुवानीका साधन पूर्ण रूपमा निसङ्क्रमण गरेर मात्र फार्मभित्र प्रवेश गराउन तथा जंगली पन्छीसँग घरपालुवा पन्छीको सम्पर्क हुन नदिन आग्रह गरेको छ ।


