पाल्पा, जिल्लाको रामपुरमा महिलालाई होजियारी तालिम दिइएको छ । रामपुर नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउन ४५ दिने होजियारी तालिम दिएको हो ।
उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम अन्तर्गत आधारभूत होजियारी तालिम लिएका ग्रामीण महिलाहरुको लागि तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । यस अघि खादा बनाउने तालिम लिएका महिलाहरु मध्ये ७ जनालाई थप तालिम प्रदान गरिएको हो । तालिममा महिलाहरुलाई उनको धागोबाट विभिन्न डिजाइनका स्वेटर, हाइनेक, टोपी, मोजा, पञ्जालगायत सामग्री बुन्न तथा मेसिन मर्मत सम्बन्धी तालिम प्रदान गरिएको हो । ४५ दिनसम्म चलेको तालिम एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ । समापनको अवसरमा सहभागी महिलाहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । प्रमाणपत्र प्रदान गर्दै नगर प्रमुख रमण बहादुर थापाले महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन नगरपालिकाले सिपमुलक तालिम सञ्चालन गर्दै आएको बताए । कतिपय महिलाहरुले तालिम लिएर व्यवसायिक रुपमा सक्रिय भएको उनले बताए । नगरपालिकाले प्रदान गर्ने तालिमको सही सदुपयोग होस् भन्ने उद्देश्यले सहभागीलाई तालिम व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाएमा मात्र सहभागी गराएर तालिम प्रदान गर्दै आएको नगर प्रमुख थापाको भनाई छ । तालिम लिएर उद्यम सुरु गर्ने महिलाहरुलाई आवश्यक उपकरणहरु अनुदानमा प्रदानसंगै नगरपालिकाले बजारको सुनिश्चितता गर्ने उनले बताए । थापाले महिलाहरुलाई प्राप्त सिपको सदुपयोग गर्दै उद्यमशिल बन्न आग्रह गरे । उपप्रमुख बालकुमारी थापाले उप–प्रमुख ग्रामीण महिला उत्थान कार्यक्रम मार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमहरु सञ्चालन गर्दै आएको बताइन् ।
तालिम पश्चात उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आएका महिलाहरुलाई आवश्यकता अनुसार उपकरणमा पनि अनुदान प्रदान गर्दै आएको उनले बताए । उनले उद्यमी महिलाहरुले उत्पादन गरेका सामान उपप्रमुख कोसेली घरबाट विक्री वितरण गर्ने वातावरण निर्माण गरिएको जानकारी दिइन् । साथै महिलाहरुले उत्पादन गरेको सामग्रीको बजार सुश्चितताका लागि विभिन्न संघ संस्थासँग पनि सहकार्य भैरहेको उनको भनाई छ । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले तालिम लिनु मात्र नभई प्राप्त तालिम कस्ले कति सदुपयोग गरे भन्ने कुरा महत्वपूर्ण रहने बताए । नगरपालिकाले गत वर्ष २२ जना महिलाहरुलाई तालिम प्रदान गरेको थियो । कार्यक्रममा प्रशिक्षक मदन कुमार अधिकारीले तालिममा सिकेका ज्ञान व्यवहारमा लागु गर्दै नयाँ सिप सिक्दै अघि बढ्न आग्रह गरे । छोटो समयमा धेरै सिकाउन नसकिए पनि सहभागीहरुको सक्रिय सहभागिताले तालिम प्रभावकारी बनेको विश्वास उनले व्यक्त गरे । सहभागीको तर्फबाट फुल माया परियारले आफ्नो अनुभव सहित तालिमलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाइन् । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाका प्रमुख पुजा परियारले गरेकी थिइन् ।


