Shittalpati
बुवाको सम्मानमा अन्तर्राष्ट्रिय दिवस मनाइँदै

पाल्पा, अन्तर्राष्ट्रिय बुवा दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले बुवाको सम्मानमा यो दिवस मनाउने गर्दछ । यो दिवस बुवाप्रति सम्मान, कृतज्ञता र प्रेम व्यक्त गर्ने अवसरका रूपमा लिइन्छ । बुवा परिवारका अभिभावक मात्र नभई सन्तानको शिक्षा, संस्कार, सुरक्षा र भविष्य निर्माणका महत्वपूर्ण आधारस्तम्भ मानिन्छन् ।

बदलिँदो सामाजिक परिवेशमा बुवाको भूमिका झन् व्यापक बन्दै गएको छ । सन्तानको पालनपोषणदेखि भावनात्मक सहयोग र मार्गदर्शनसम्म बुवाको सक्रिय सहभागिता आवश्यक रहेको विज्ञहरू बताउँछन् । यस अवसरमा विभिन्न सामाजिक संस्था, विद्यालय तथा समुदायले बुवाको योगदानको सम्मान गर्दै विशेष कार्यक्रम आयोजना गरेका छन् । सामाजिक सञ्जालमा पनि धेरैले आफ्ना बुवासँगका तस्बिर र स्मरणहरू साझा गर्दै शुभकामना व्यक्त गरिरहेका छन् । आजको दिनमा पिता जीवित हुनेले मीठामीठा पक्वान्न तयार पारी खुवाउने, न्याना उपयोगी कपडाद्वारा सम्मान गर्ने, बुवाको मुख दर्शन गर्ने र प्रणाम गर्ने चलन रहेको छ भने पिताको देहावसान भइसकेकाहरूले चाहिँ पितृ मुक्तिको कामना गर्दै पितृ तर्पण वा दानदक्षिणा गर्ने गर्दछन् । परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ । चाहे जुनसुकै धर्म, दर्शन, संस्कार या जनावरहरू नै किन नहुन ? आमा बुवालाई पुज्ने चलन छ । यस क्रममा भारतमा बेलायती शासकहरूको शासन सुरुवात पछिका दिनमा नै जुन महिनाको तेस्रो आइतबार बुवाप्रति समर्पण गर्ने दिन मनाउने चलन स्थापना गरिएको थियो ।

क्रमशः यसै चलनलाई बेलायतीहरूले आफ्नो देशमा पनि थालनी गरिदिए र आज विश्वभर नै जुन महिनाको तेस्रो आइतबार अन्तर्राष्ट्रिय बुवा दिवस मनाउने चलन स्थापना भएको हो । जो बुवा आमा भन्दा टाढा छन् । जसले वर्षौसम्म पनि आमा बुवा भेट्न पाउँदैनन्, उनीहरुका लागि यो दिवस महत्वपूर्ण रहन्छ । तर वर्षमा एक दुई पटक बुवा आमाप्रति सद्भाव र माया दर्शाएर पुग्दैन । जन्म र कर्म दिने बुवा आमालाई वर्षमा एक/दुई दिन सम्झिएर हुँदैन । अझ अहिले त वर्षभरी वास्ता नगर्ने जब आमा, बुवाको मुख हेर्ने र दिवस आउँछन् तब सामाजिक सञ्जालका भित्ताहरूमा बुवा आमाका तस्वीरहरु सजाएर राख्ने प्रवृत्तिको विकास भएको छ जुन गलत हो । हिजोआज बढ्दो पश्चिमीकरण र तिनका मूल्य–मान्यता अँगाल्ने होडमा धेरै बुवाआमाहरू अवहेलनामा परिरहेका छन् । आफू सक्षम नबनुञ्जेल काखमा लुटपुटिने र सक्षम बनिसकेपछि तिनै आमालाई साहारा विहीन बनाउने सन्तानहरू अहिले बढिरहेका छन् । 

प्रकाशित मिति: आइतबार, असार ७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update