Shittalpati
विश्व योग दिवसको सान्दर्भिकता

विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन २१ मा मनाइने  यो दिवसले योगको महत्वलाई विश्वभर फैलाउने अवसर प्रदान गर्दछ । आधुनिक जीवनशैली, बढ्दो मानसिक तनाव, शारीरिक निष्क्रियता र विभिन्न जीवनशैलीजन्य रोगहरूको चुनौतीबीच योग आज केवल व्यायामको माध्यम मात्र नभई स्वस्थ, सन्तुलित र सकारात्मक जीवनको आधारका रूपमा स्थापित भएको छ । शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्ने यसको मूल उद्देश्य आज पनि उत्तिकै सान्दर्भिक छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण हो । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । योग विभिन्न किसिमका हुन्छन् । जसमध्ये याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि र त्याग मुख्य हुन् । केही वर्षयता नेपालमा पनि योगको महत्व बढ्दै गएको छ । गाउँ–गाउँमा समेत योग शिविर सञ्चालन हुने गरेका छन् । बौद्धिक जमातले समेत योगलाई आत्मसात् गर्न थालेको पाइन्छ । 

विज्ञान र चिकित्साशास्त्रले समेत नियमित योग अभ्यासले मानसिक तनाव कम गर्ने, एकाग्रता बढाउने, रोग प्रतिरोधात्मक क्षमता सुदृढ गर्ने तथा समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने तथ्यलाई स्वीकार गरेका छन् । विश्व योग दिवस केवल औपचारिक कार्यक्रम वा सामूहिक आसन प्रदर्शनमा सीमित हुनु हुँदैन । यसको वास्तविक उद्देश्य योगलाई दैनिक जीवनशैलीको अभिन्न अंग बनाउनु हो । विशेषगरी डिजिटल युगमा लामो समयसम्म मोबाइल, कम्प्युटर तथा अन्य उपकरणको प्रयोगले बढाएको शारीरिक र मानसिक समस्याको समाधानमा योग प्रभावकारी माध्यम बन्न सक्छ । विद्यालय, विश्वविद्यालय, कार्यालय तथा समुदायस्तरमा योग संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो । नेपालजस्ता प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाले सम्पन्न देशका लागि योगको प्रवद्र्धन स्वास्थ्य र पर्यटन दुवै दृष्टिले महत्वपूर्ण छ । योगले व्यक्तिगत स्वास्थ्य सुधार्नुका साथै अनुशासन, सहिष्णुता र आत्मनियन्त्रणजस्ता मूल्यहरू विकास गर्न मद्दत गर्दछ, जसले स्वस्थ र जिम्मेवार समाज निर्माणमा योगदान पुर्‍याउँछ ।विश्व योग दिवसले हामीलाई स्वास्थ्यप्रति सचेत बन्न, तनावमुक्त जीवनशैली अपनाउन र आन्तरिक शान्तिको खोजी गर्न प्रेरित गर्दछ । त्यसैले योगलाई एक दिनको उत्सवमा सीमित नराखी दैनिक अभ्यासका रूपमा आत्मसात् गर्नु आजको समयको आवश्यकता हो । वर्तमान अवस्थामा योगको महत्व र सान्र्दभिकता झन बढेर गएको छ । प्राचीन समयमा हरेक रोगको उपचारमा योगको प्रयोग गरिए पनि आधुनिक चिकित्साको विकाससँगै योग ओझेलमा परेको थियो । तर, अहिले योगबाट पनि विभिन्न रोगको उपचार गर्न संभव छ भन्ने पुष्टि हुँदै गएपछि यसको महत्व बढ्दै गएको हो ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update