Shittalpati
पत्रकार बौडेलमाथि ज्यान मार्ने धम्की : दोषीलाई तत्काल कारवाहीको माग

पाल्पा, नेपाल पत्रकार महासंघ  पाल्पा शाखाका कोषाध्यक्ष तथा माडी भ्यू मिडियाका अध्यक्ष विजय बौडेललाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ पाल्पा शाखाले कडा आपत्ति जनाएको छ ।

माडी भ्यू मिडियामा प्रकाशित समाचारका विषयलाई लिएर २०८३ असार २ गते राति करिब ११ बजे अज्ञात व्यक्तिले फोनमार्फत अपशब्द प्रयोग गर्दै पत्रकार बौडेललाई ज्यान मार्ने धम्की दिएका थिए । महासंघ पाल्पा शाखाका सचिव रामचन्द्र रायमाझीद्वारा जारी विज्ञप्तिमा पत्रकारमाथि हुने कुनै पनि प्रकारका धम्की तथा दबाबका गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ ।

महासंघले लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमले सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गर्नु आफ्नो संवैधानिक तथा पेशागत दायित्व भएको उल्लेख गर्दै प्रकाशित समाचार वा भिडियोप्रति असहमति भए कानुनी तथा संस्थागत प्रक्रियाबाट समाधान खोज्न सकिने जनाएको छ । पत्रकारलाई व्यक्तिगत रूपमा धम्क्याउने कार्य प्रेसविरोधी र गैरजिम्मेवार कदम भएको महासंघको ठहर छ । घटनाको निन्दा गर्दै महासंघले पत्रकार बौडेलले जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित उजुरी दिइसके पनि हालसम्म धम्की दिने व्यक्ति पक्राउ नपरेकोप्रति गम्भीर चासो व्यक्त गरेको छ । महासंघले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा भविष्यमा यस्ता गतिविधि नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । साथै पत्रकार बौडेलको जीउधनको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update