तम्घास (गुल्मी), स्थानीय चन्द्रकोट गाउँपालिका–२ विशुखर्कमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २०४ जना स्थानीय लाभान्वित भएका छन्। शिविरमा नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा रमेश अर्याल र मुटुरोग विशेषज्ञ डा कपिल गौतमले स्वास्थ्यकर्मीको टोलीले मधुमेह, उच्च रक्तचाप, थाइराइड, बाथ, छातीलगायत रोगका बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरमा १२६ जना महिला र ७८ पुरुषले सेवा लिएको वडाध्यक्ष कमल केसीले जानकारी दिए। गत आर्थिक वर्षदेखि विशुखर्क स्वास्थ्यचौकीमा विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । त्यसबाट गाउँका गरिब एवं विपन्न परिवार लाभान्वित भएका छन् । “स्वास्थ्य नै ठूलो धन हो भन्ने पढेका थियौँ”, वडाध्यक्ष केसीले भने, “अहिले त्यही विषयलाई व्यवहारमा लागू गर्दैछौँ ।”


