पाल्पा, जिल्लाको रम्भा गाउँपालिकामा स्थानीय पत्रकारको क्षमता विकासका लागि तालिम दिइएको छ । गाउँपालिकाको आयोजना, पाल्पा विकास केन्द्रको व्यवस्थापनमा तीनदिने क्षमता विकास तालिम दिइएको हो ।
जेठ ३० गतेदेखि असार १ गतेसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका पाँचवटै वडाबाट ३५ जनाको सहभागिता रहेको थियो । तालिममा विद्यालयका शिक्षक, विभिन्न कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी, कृषक, सहकारीकर्मी, उद्यमी, व्यवसायी, धार्मिक तथा पर्यटन क्षेत्रमा सक्रिय व्यक्तित्व तथा स्थानीय स्तरमा पत्रकारितामा संलग्न व्यक्तिहरू सहभागी थिए । पत्रकारिताको माध्यमबाट स्थानीय विषयवस्तु उजागर गर्दै “समृद्ध रम्भा र खुसी रम्भावासी” बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको रम्भा गाउँपालिकाले जनाएको छ । तालिममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति प्रसाद न्यौपानेले आधारभूत पत्रकारिता सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षक पाल्पा विकास केन्द्रका संयोजक किरण कौशलले पत्रकार आचारसंहिता तथा समाचारका विषयवस्तु, खोज अनुसन्धान तथा प्रस्तुतीकरण, मित्थ्या सूचनाले समाचारमा पारेको नकारात्मक प्रभाव लगायतका विषयबस्तुुमा सहजीकरण गरे । तालिममा पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले नागरिक पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण दिए भने ए–वन टेलिभिजनका प्रमुख सन्तोष बस्यालले टेलिभिजन पत्रकारिता तथा भिडियो पत्रकारितासम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेका थिए ।
तालिममा सहभागीहरूलाई समाचार लेखन, समाचारका स्रोत पहिचान, पत्रकारिताको नैतिकता, सामाजिक उत्तरदायित्व, नागरिक पत्रकारिताको महत्व तथा डिजिटल माध्यममा समाचार सम्प्रेषणका विषयमा जानकारी दिइएको थियो । प्रशिक्षकहरूले पत्रकारिता गर्दा जिम्मेवार, निष्पक्ष र तथ्यमा आधारित समाचार बनाउनुपर्नेमा जोड दिएका थिए ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले स्थानीय तहको विकास, सुशासन र जनउत्तरदायित्व प्रवद्र्धनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताए । अध्यक्ष भण्डारीले स्थानीय पत्रकारहरू सक्षम भएमा गाउँपालिकाका गतिविधि, सम्भावना र चुनौतीहरूलाई प्रभावकारी रूपमा जनतामाझ पुर्याउन सकिने धारणा राखे । प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले सूचना प्रवाह र पारदर्शिताका लागि स्थानीय पत्रकारिता सशक्त हुनुपर्ने बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिदै जाने बताए । सहभागीहरूको तर्फबाट अञ्जु खनाल र एवत बहादुर सारुले तालिम अत्यन्त उपयोगी रहेको बताए । सहभागीहरुले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो समुदायमा सूचना प्रवाह र जनचासोका विषय उठान गर्न उपयोग गर्ने बताए । समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । रम्भा गाउँपालिकाले स्थानीय नागरिकलाई पत्रकारितामार्फत आफ्नो क्षेत्रको विकास, सम्भावना, समस्या र उपलब्धिहरू उजागर गर्न सक्षम बनाउने उद्देश्यले आयोजना गरेको जनाएको छ । तालिमले सहभागीहरूमा पत्रकारिताप्रति नयाँ उत्साह र आत्मविश्वास जगाएको, स्थानीय स्तरमा जिम्मेवार र सक्षम पत्रकार उत्पादन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गाउँपालिकाले गरेको छ । स्थानीय पत्रकार खुम बहादुर पौडेलको अध्यक्षता, पाल्पा विकास केन्द्रका संयोजक किरण कौशलको सञ्चालनमा तालिम समापन भएको थियो ।


