पाल्पा, आज विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ज्येष्ठ नागरिकमाथि हुने शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक दुव्र्यवहारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले दिवस विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो ।
हरेक वर्ष जुन १५ मा यो दिवस मनाउने गरिन्छ । यो दिवसले वृद्धवृद्धाको सम्मान, सुरक्षा र अधिकार संरक्षणको आवश्यकता औँल्याउने गर्दछ । दिवसको अवसरमा सरकारी निकाय, सामाजिक संघसंस्था तथा समुदायस्तरमा अन्तरक्रिया, सचेतना र्याली, स्वास्थ्य परीक्षण तथा सम्मान कार्यक्रम आयोजना गरिएका छन् । विशेषज्ञहरूका अनुसार ज्येष्ठ नागरिकहरू परिवार, समाज तथा संस्थागत तहमा विभिन्न प्रकारका दुव्र्यवहारको जोखिममा रहने गरेका छन् । आर्थिक शोषण, बेवास्ता, अपमानजनक व्यवहार तथा मानसिक दबाबजस्ता समस्या अझै पनि चुनौतीका रूपमा रहेका छन् । दिवसको अवसरमा सरोकारवालाहरूले ज्येष्ठ नागरिकलाई सुरक्षित, सम्मानित र मर्यादित जीवनयापनको वातावरण सुनिश्चित गर्न परिवार, समुदाय तथा राज्य सबैको साझा जिम्मेवारी रहेको बताएका छन् । उनीहरूले वृद्धवृद्धामाथि हुने कुनै पनि प्रकारका हिंसा र दुव्र्यवहार अन्त्य गर्न कानुनी संरक्षण, सामाजिक सुरक्षा तथा जनचेतना अभिवृद्धि आवश्यक रहेकोमा जोड दिएका छन्। विश्वव्यापी रूपमा वृद्ध जनसंख्या बढ्दै गइरहेका बेला उनीहरूको अधिकार संरक्षण र सम्मानजनक जीवन सुनिश्चित गर्ने विषयलाई अझ प्रभावकारी रूपमा अघि बढाउन यस दिवसले महत्वपूर्ण सन्देश दिने विश्वास गरिएको छ ।


