Shittalpati
बुवाआमाप्रतिको जिम्मेजारी निभाऔं

समाजको पहिलो विद्यालय परिवार हो, र परिवारका पहिलो शिक्षक बुवा र आमा हुन् । सन्तानको जन्मदेखि नै उनीहरूले माया, संरक्षण, अनुशासन र संस्कार प्रदान गर्दै व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । यही अमूल्य योगदानको सम्मानस्वरूप विश्वभर विभिन्न अवसरमा बुवा र आमालाई समर्पित दिवस मनाइने गरिन्छ । उनीहरूको त्याग, समर्पण र निस्वार्थ प्रेमप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आज विश्वभर बुवाआमा दिवस मनाइँदै छ । सन् २०१२ को संयुक्त राष्ट्र संघको महासभाले विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन १ लाई आमाबुवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सोही घोषणा अनुसार यो दिवस मनाउने गरिन्छ । अहिलेको अवस्थामा यो दिवस मनाउनु रामै्र मानिन्छ । जो बुवा आमा भन्दा टाढा छन् । जसले वर्षौसम्म पनि आमा बुवा भेट्न पाउँदैनन्, उनीहरुका लागि यो दिवस महत्वपूर्ण रहन्छ । तर वर्षमा एक दुई पटक बुवा आमाप्रति सद्भाव र माया दर्शाएर पुग्दैन ।

जन्म र कर्म दिने बुवा आमालाई वर्षमा एक/दुई दिन सम्झिएर हुँदैन । अझ अहिले त वर्षभरी वास्ता नगर्ने जब आमा, बुवाको मुख हेर्ने र दिवस आउँछन् तब सामाजिक सञ्जालका भित्ताहरूमा बुवा आमाका तस्वीरहरु सजाएर राख्ने प्रवृत्तिको विकास भएको छ जुन गलत हो । आजको तीव्र आधुनिकीकरण, व्यस्त जीवनशैली र बढ्दो व्यक्तिवादका कारण पारिवारिक सम्बन्धहरूमा दूरी बढ्दै गएको देखिन्छ । कतिपय वृद्ध बुवाआमाहरू आफ्नै सन्तानबाट अपेक्षित साथ र सम्मान पाउन नसकी एक्लोपनको पीडा भोग्न बाध्य छन् । आर्थिक समृद्धि र प्रविधिको विकासले जीवन सहज बनाए पनि पारिवारिक आत्मीयता र भावनात्मक सम्बन्ध कमजोर हुने चिन्ता बढेको छ । यस्तो अवस्थामा विश्व बुवाआमा दिवसको सान्दर्भिकता अझ बढी महसुस हुन्छ । बुवा र आमा केवल जन्मदाता मात्र होइनन् ¤ उनीहरू सन्तानका प्रेरणास्रोत, मार्गदर्शक र जीवनका सबैभन्दा विश्वसनीय साथी पनि हुन् । उनीहरूले आफ्ना इच्छा र आवश्यकताभन्दा सन्तानको भविष्यलाई प्राथमिकता दिँदै जीवनभर संघर्ष गर्छन् । त्यसैले उनीहरूप्रति सम्मान, सेवा र माया देखाउनु कुनै एक दिनको औपचारिकता नभई प्रत्येक सन्तानको नैतिक कर्तव्य हो । बुवाआमा हाम्रो अस्तित्वका आधार हुन् । उनीहरूको त्याग र योगदानको उचित सम्मान गर्दै बुढेसकालमा आवश्यक साथ, सहयोग र सम्मान प्रदान गर्नु प्रत्येक सन्तानको दायित्व हो । परिवारभित्र पारस्परिक माया, सम्मान र जिम्मेवारीको भावना बलियो बनाउन सके मात्र सभ्य र मानवीय समाजको निर्माण सम्भव हुन्छ । त्यसैले आजको आवश्यकता भनेकै—“बुवाआमाप्रतिको जिम्मेवारी निभाऔँ, उनीहरूको सम्मान गरौँ र सुखद जीवनको आधार बनाऔँ ।”

प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update