युगकवि सिद्धिचरण श्रेष्ठको आज जन्मजयन्ती । उनको जन्मदिनका अवसरमा आज देशभर नै साहित्यिक समारोहरु हुँदै छन् । नेपाली साहित्य क्षेत्रमा सिद्धिचरण श्रेष्ठले पुर्याएको येगदान अतुलनिय रहेको छ । जसका कारण साहित्यकार तथा साहित्य संघसंस्थाहरुले जन्मजयन्तीका अवसरमा उनलाई विशेष किसिमले सम्झ्ने गर्दछन् । वि.सं. १९६९ जेठ ९ गते ओखलढुंगा जिल्लामा जन्मेका सिद्धिचरणको ८० वर्षको उमेरमा २०४९ जेठ २२ गते निधन भएको थियो । उनको निधन भए पनि नेपाली समाजले योगदानको भने सधैव सम्मान गर्ने गरेको छ । यो आफैमा सकारात्मक छ । नेपाली साहित्यमा सिद्धिचरणको स्थान महत्वपूर्ण छ ।
नेपाली साहित्यका आकाशमा उज्यालो तारा बनेर चम्किएका श्रेष्ठको जन्मजयन्ती केवल एक साहित्यकारको स्मरण मात्र होइन, यो नेपाली चेतना, स्वतन्त्र विचार र मानवतावादी भावनाको उत्सव पनि हो । प्रत्येक वर्ष उनको जन्मजयन्ती मनाइँदा नेपाली समाजले साहित्य, संस्कृति र राष्ट्रिय चेतनामा उनले पु¥याएको अतुलनीय योगदानलाई पुनः सम्झने अवसर पाउँछ । प्रकृति, राष्ट्रप्रेम, जनजीवन, पीडा र स्वतन्त्रताको भावलाई सरल तर प्रभावशाली शैलीमा अभिव्यक्त गर्ने उनको क्षमता अद्वितीय थियो । उनको “ओखलढुङ्गा” कविता आज पनि नेपाली जनमानसको हृदयमा जीवित छ । उनले कविता केवल मनोरञ्जनका लागि होइन, समाजलाई जागृत गराउने माध्यमका रूपमा प्रयोग गरे । राणाशासनको दमनकारी समयमा स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उनले जेलजीवन समेत भोग्नुपरेको थियो । तर कठिन परिस्थितिले उनको कलमलाई रोक्न सकेन । बरु उनका सिर्जनाले जनतामा अधिकार र स्वतन्त्रताको चेतना फैलायो । यस अर्थमा सिद्धिचरण केवल कवि होइनन्, परिवर्तनका अभियन्ता पनि हुन् । आजको पुस्ताका लागि सिद्धिचरण श्रेष्ठको जीवन र साहित्य प्रेरणाको स्रोत बनेको छ । प्रविधि र भौतिकताले मानिसलाई संवेदनाहीन बनाइरहेको वर्तमान समयमा उनका कविताले मानवीय मूल्य, प्रकृतिप्रेम र सामाजिक जिम्मेवारीको स्मरण गराउँछन् । साहित्य समाजको दर्पण मात्र होइन, दिशानिर्देशक पनि हो भन्ने सन्देश उनले आफ्नो सिर्जनामार्फत दिएका छन् । उनको जन्मजयन्ती मनाउनु भनेको केवल माल्यार्पण र औपचारिक कार्यक्रम गर्नु होइन ¤ उनको विचार, आदर्श र साहित्यिक योगदानलाई व्यवहारमा उतार्नु पनि हो । यसर्थ नेपाली साहित्य क्षेत्रमा उनले पु¥याएको योगदानको सबैले अनुसरण गर्न जरुरी छ ।

