पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक बर्षको बैशाख मसान्त सम्म ५६ प्रतिशत प्रगति हासिल गरेको छ । पालिकाले चालु तर्फ ५९ प्रतिशत २९ करोड ७८ लाख र पुँजीगत तर्फ १४ करोड ७८ लाख गरी ५१ प्रतिशत बजेट खर्च भएको जनाएको छ । बैशाख मसान्त सम्म पालिकाले ८५ लाख आन्तरीक राजश्व संकलन गरेको छ । पालिकले १ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ८५ प्रतिशत प्रगति आसिल गरेको जनाएको छ । गाउँपालिकाले पालिका परिसरमा दोस्रो चौमासिक सार्वजनिक सुनवाई गर्दै सेवाग्राही बाट आवश्यक राय, सुझाव तथा गुनासाहरु संकलन गरेको छ । पालिकाको समग्र प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत विबेक रणपाल परियारले प्रस्तुत गर्दै निति, नियम र कानुन भित्र रहेर सेवाग्रहीलाई छिटो भन्दा छिटो सेवा प्रवाहमा सम्पूर्ण कर्मचारीहरु खटिएको बताए ।
पालिका भित्र कृषि तथा पशुपालनलाई व्यबसायिक र व्यस्थित बनाउन कृषकहरुलाई फर्ममा आवद्ध गराएर पालिकाले आवश्यक सहयोग तथा विभिन्न किसिमका अनुदानहरु सहयोग गर्दै आएको छ । पालिकामा चालु आवमा २६ वटा कृषी तथा पशुपक्षी फर्म दर्ता भएको ३३ वटा नविकरण भएका छन भने ४ वटा व्यबसायिक तथा फलफूल नर्सरी सञ्चालनमा रहेका छन् । पालिका भित्र ८ वटा सहकारी संस्थाले मलको कारोवार गर्दै आएका छन् । पालिकाले व्यबसायिक कृषिको लागि आधुनिकरण, उत्पादनमा विस्तार तथा बजारीकरणको लागि १९ किसिमका कृषि कार्यक्रम सञ्चालन भएकोमा ७० प्रतिशत कार्यक्रम सकिएको र बाँकी काम जेठ मसान्त भित्र सकिने प्रमुख प्रशासकीय अधिकृत रणपालले जानकारी दिए । पालिकाको शिक्षा तथा सिकाई उपलब्धी विगतका तुलनामा बढ्दै गएको एसईई नतिजा ४८ प्रतिशत बाट बढाएर ६० प्रतिशत पु¥याउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत रणपालले बताए । पालिका पूर्ण खोप तथा संस्थागत सुत्केरी भएको गाउँपालिका घोषण भएको, मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम कार्यक्रम सञ्चालन गरेको सर्ने तथा नसर्ने रोगका विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा सेवाग्रहीले कृषि उत्पादन तथा बजारीकरणलाई प्राथमिकता दिएर कार्यक्रम बजेट बनाउनु पर्ने, कृषि सामाग्री वितरण संगै हरेक किसिमका कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्नुपर्ने, जनताको आवश्यकताको आधारमा रहेर बस्ती स्तरबाट योजना संकलन गरी कार्यान्वयन गर्नुपर्ने, इन्धनको मुल्यबृद्धि संगै योजना सञ्चालन गर्न कठिनाई भएकोले पालिकाले मुल्य बृद्धि बराबरको रकम थप गरी बाँकी योजनाहरु पुरा गर्नुपर्ने सुझाव दिएका छन् । आएका सुझाव, सल्लाह तथा गुनासाहरु टिपोट गरिएको, जनप्रतिनिधी तथा कर्मचारी तह संगै कार्यपालिका बैठक एव आगामी निती कार्यक्रमबाट सम्वोधन गरिने गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए । पालिकाले कृषि तथा पशुपालनलाईनै पहिलो प्राथमिकता दिएर कार्यक्रम र बजेट ल्याएको, अन्तरजिल्ला जोड्ने सडकलाई प्राथमिकता दिएर काम गरेको, एक घर एक धारा खानेपानी सुविधालाई प्राथमिकता दिएको, पालिका भित्रका पर्यटकीय पुर्वाधार विस्तारमा जोड दिएको, शिक्षाको गुणस्तर सुधारमा प्राथमिकता दिएको, पालिका भित्रको सेवा प्रवाहमा चुस्त दुस्त बनाउन जनप्रतिनिधी र कर्मचारीहरु खटिएको, आर्थिक पारदर्शी तथा शुसासनमा कडाई गरेको अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए ।
जनताले उठाएका गुनासा तथा जिज्ञासाको प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियार, शिक्षा शाखा प्रमुख तेज बहादुर कुमाल, वन तथा वातावरण शाखाकी प्रतिमा क्षेत्री, सहकारी शाखाका पारसमणी पाण्डेले जवाफ दिएका थिए । पालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, वडा नं. ४ का वडा अध्यक्ष गोविन्द बहादुर रायमाझीको स्वागत र पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशल र पत्रकार कृष्ण दर्नालको सहजीकरणमा सार्वजनिक सुनुवाई भएको थियो ।


