पाल्पा, आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य स·ठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । यस रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नेपालमा स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ–संस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरेर यो दिवसको बारेमा जानकारी फैलाउने गर्दछन् । यसबारे कतिपय विकासोन्मुख देशका नागरिकहरूमा चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको संख्या आशा गरे अनुरूप घट्न भने सकेको छैन । यसको रोकथाम गर्न समयमा खोप, आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्वपूर्ण मानिएको छ । ‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो
(मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ । विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ ।
औलो रोगका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका रहने गरेका छन् । संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ । नेपालमा बर्सेनि करिब एक हजारको हाराहारीमा प्रयोगशालाबाट प्रमाणित औलो रोगी भेटिन्छन् । यो रोग वर्षायाम सुरु भएसँगै अप्रिलबाट सुरु हुन्छ । र, जुलाई देखि नोभेम्बर उच्च विन्दुमा रहन्छ । स्वास्थ्य संस्था र सरोकारवाला निकायले औलो निवारण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि नेपालमा औलोको प्रकोप कायमै छ । नेपालमा विगत एक सय वर्षदेखि औलोको समस्या देखिँदै आएको जनाइएको छ । यस रोगका बिरामीमा पक्षघात र मष्तिस्काघातको जोखिम हुने गर्दछ । चिकित्सकका अनुसार औलो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । औलो संक्रक्रमित ‘एनोफिलस’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । गर्मी र वर्षायाममा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ ।


