हरेक वर्ष अप्रिल २३ को दिनलाई “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” का रूपमा मनाउने गरिएको छ । यस वर्षको दिवस आज मनाइँदै छ । ‘प्रतिलिपि अधिकार’ बौद्धिक सम्पत्ति अधिकारको एक मुख्य शाखाका रूपमा विश्व व्यापार संगठनले पनि मान्यता दिँदै ट्रिप्स एग्रिमेन्टअन्तर्गत समेटेको छ । नेपालमा प्रतिलपि अधिकार रजिस्ट्रारको कार्यालय स्थापना भएको धेरै भएको छैन । तापनि थोरै समयमा नै यस कार्यालयले गति लिने क्रममा यो दिवस मनाउने सत्प्रयासलाई स्रष्टाको प्रतिलिपि अधिकारलाई नेपालमा पनि ठोसरूपमा सुरक्षित गर्ने शुभ संकेतका रूपमा लिन सकिन्छ । अप्रिल २३ तारिखसँग पुस्तकको सम्बन्ध गाँस्ने काम काटालोनियाका पुस्तक बिक्रेताहरुले सन् १९२३ मा गरेका थिए । यसको उद्देश्य थियो– समकालीन लेखक÷सर्जकलाई सम्मानित गर्नु। अप्रिल २३ का दिनमा सेरभान्टेजको जन्म र देहावसान भएको थियो र सो दिनलाई नै आधार मानेर उनको सम्मानका खातिर यो दिवस मनाइएको थियो ।
आज पुस्तक लेख्नेहरुको उत्सव तथा पुस्तक पढ्नेहरुको उत्सवको दिन पनि हो । विश्व पुस्तक दिवस कार्यक्रमको अपनत्व युनेस्कोले लिँदै आएको छ । विशेष गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न पुस्तक दिवस मनाउन लागिएको हो । लेखन तथा प्रकाशन क्षेत्रमा प्रतिलिपि अधिकार ठूलो मुद्दा भएकाले आजको दिनलाई विश्व पुस्तक दिवस तथा प्रतिलिपि अधिकार दिवसका रुपमा लिइएको हो । नेपालमा पनि पछिल्ला केही वर्ष यता विभिन्न कार्यक्रम गरेर पुस्तक दिवस मनाइने गरिन्छ । पुस्तक दिवसकै अवसर पारेर साथीसंगीबीच पुस्तक उपहार दिने चलन पनि नेपालमा बढ्दै गएको छ । यो आफैमा राम्रो पक्ष हो । सञ्चार क्षेत्रको फैलावट बढेसँगै लेखनका बारेमा हुने विभिन्न चर्चा परिचर्चा र बौद्धिक फोरमहरुले समेत पुस्तक पारखीलाई पुस्तकप्रति आकर्षित गर्ने गरेका छन् । नेपालमा दिनहुँ नयाँ नयाँ पुस्तक छापिनै रहेका हुन्छन् । तर तीनको गुणस्तर कम र लक्षित वर्ग स्पष्ट नभएका कारण पनि ती बहसमा अटाउँदैन । लेखकले नाम कमाउन मात्र लेख्ने प्रवृति पछिल्लो समय बढेको छ । गुणस्तरीय लेखनीमा जोड दिन पाठक र बौद्धिक वर्गले लेखकलाई दबाव दिन सक्ने समय पनि हो आज । त्यसैले दिवसलाई दिवसकै रुपमा मनाउने भन्दा पनि गहन अध्ययन र हरेक दिनका बहस र विचारहरुले महत्व राख्न सके दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।


