आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ । यो हरेक वर्ष वैशाख शुक्लपक्षको औँसी तिथिमा मनाइन्छ । मातातीर्थ औँसी एक किसिमको चाड हो ।
यस दिन मातााप्रति श्रद्धाभाव प्रकट गर्ने गरिन्छ । आमालाई मीठो खाना र राम्रो नाना दिएर सम्मान गर्ने गरिन्छ । वास्तवमा सन्तानका लागि आमा माया, ममता, करुणा र स्नेहकी प्रतिमूर्ति हुन् । आमाले अनेक दुःख कष्ट बेहोर्दै नौ महिना शिशुलाई गर्भमा राखेर माया, ममता र संस्कारले सिँचन गर्छिन्, कठोर प्रसवपीडा सहेर सन्तानलाई जन्म दिन्छिन्, आफूले खाइनखाई सन्तानको पालनपोषण गर्छिन्, आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको सुरक्षा गर्छिन् । यही कारण आमाको यति महत्व भएको हो । आजको दिन श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मनपर्ने खानेकुरा तथा उपहार दिई छोराछोरीहरूले आमाबाट शुभ आर्शिवाद ग्रहण गर्ने चलन छ । आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्ने गर्छन् भने विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले सञ्चारका साधनहरूमार्फत सम्झिने गर्छन् । आमा नभएकाहरूले पनि आमाको आत्माको शान्तिको कामना गर्दै श्राद्ध–तर्पण गरी मातृत्वको स्मरण गर्ने गर्छन् ।
यसको अर्थ वर्षको एक दिन मात्र आमाको सम्झना गर्ने र अघिपछि जे गरे पनि हुन्छ भन्ने होइन । वर्षैभरि यसैगरी आमाको सम्मान र सम्झना गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यस्तो पर्वको चलन चलेको हो । वर्षमा एक दिन भएपनि आमाप्रति देखाएको माया र सद्भावलाई राम्रै मान्नुपर्छ । तर एक दिनले मात्र आमाप्रति जिम्मेवारी पुरा हुँदैन । वर्षको एक पटक मात्र आमालाई सामाजिक सञ्जालका भित्ताहरूमा मात्रै सजाएर आमा सम्झिने प्रवृत्तिको विकासलाई भने सकारात्मक मान्न सकिदैन । हिजोआज बढ्दो पश्चिमीकरण र तिनका मूल्य–मान्यता अँगाल्ने होडमा धेरै आमाहरू अवहेलनामा परिरहेका छन् । यो अत्यन्त दुःखको कुरा हो । कतिपय आमाहरू छोराबुहारीको दुव्र्यवहार सहेर बसिरहेका छन् । यस्तो अवस्थामा सन्तानहरूले आफ्नो दायित्व सम्झन जरुरी छ । तसर्थ आमालाई वर्षमा एक दिन मात्र होइन सधैंभरी सम्झिने र सम्मान गर्ने गरौं ।

