Shittalpati
पाल्पा आइपुग्यो सलह कीरा

रामचन्द्र रायमाझी

पाल्पा । जिल्लाका विभिन्न स्थानमा शनिबारदेखि सलह कीरा देखिएका छन् । तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका लगायतका स्थानहरुमा सलह देखिएको स्थानीयले बताएका छन् । विशेष गरी सुनौली–भैरहवा–बुटवल हुँदै पाल्पा छिरेको सलह जिल्लाको तिनाउ गाउँपालिका वडा ३ झ्याम्रुङ्गमा बढी देखा परेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए । उनका अनुसार जिल्लाका विभिन्न ठाउँहरुका आकाशमा सलह देखा परे पनि बसि सकेको छैन ।

आइतबार तिनाउ गाउँपालिका ३ का कृषकहरुले सलह कीरा बालीमा देखा परेको जानकारी गराएपछि कृषि ज्ञान केन्द्रका प्रमुख अर्याल सहितको प्राविधिक टोली उक्त स्थानमा पुगेको थियो । सलहले उक्त स्थानमा आंशिक क्षति पु¥याएको केन्द्रका प्रमुख अर्यालले बताए । कृषकले लगाएको मकै र तरकारीवालीमा क्षति प¥याएको उनले जानकारी दिए । प्रमुख अर्यालले भने ‘सलह कीरा नियन्त्रणका लागि धुँवा उडाउने, टिन ठटाउने, ठूलो आवाज निकाल्ने जस्ता गतिविधि गर्न कृषकहरुलाई आग्रह गरिएको छ ।’ सलह कीरा बढी नै देखिन थाले घाम लागेको समयमा विषादी छर्किने उनले बताए । लाखौँको संख्यामा भारतबाट रुपन्देही आइपुगेको सलह कीरा पाल्पाको दोभान हुँदै माथितर्फ उक्लेको बताइएको छ । सलह कीरा देखिन थालेपछि पछि यस क्षेत्रका कृषक भने त्रसित बनेका छन् । कृषकहरुलाई सलहले बालीनालीमा नोक्सान गर्ने हो कि भन्ने त्रास बढाएको छ ।

सलह देखिएपछि विभिन्न समाजिक सञ्जालमा फोटो खिचेर पोष्ट गरेको पाइन्छ । पाल्पाको आकाशमा सलह देखिन थालेपछि विभिन्न सञ्चार माध्यममार्फत सचेतना जगाउन सम्बन्धित कार्यालयका प्रमुखलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने बताए । उनले कीरा रोकथाममा तत्काल जुट्न र के कस्तो सहयोग आवश्यक पर्छ भन्ने जानकारी दिन सम्बन्धित कार्यलयलाई निर्देशन दिइएको बताए ।

फट्याङ्ग्रा प्रजातिको सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खञ्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १ सय ५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् । उक्त किराको आक्रमणबाट हुने सम्भावित क्षतिबाट सुरक्षित राख्नका लागि किसान स्वयंमले आफ्नो बालीको वरिपरि र माथिबाट झुल लगाएर बाली घेर्दा किराले बालीमा आक्रमण गर्न नसक्ने कृषि विज्ञहरुको भनाई छ । त्यस्तै किसानले बाली जस्तैः धानका पातहरुमा खरानी छर्कदा पनि किराले आक्रमण गर्न सक्दैन । किसानले थाल ठटाएर, हल्ला गरेर किरालाई धपाएमा बालीमा हुने सम्भावित क्षतिबाट जोगाउन सकिने कृषि प्राविधिकहरु बताउँछन् ।

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update