मध्यविन्दु (नवलपरासी), वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल(नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएक छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्ड वर्षाले चिप्लो हुँदा उक्त सडक अवरुद्ध भएको हो ।
दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक चिप्लो हुँदा सवारीसाधन फसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयनवलपरासीबर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार शुक्रबार दिउँसोदेखि परेको वर्षाले सड्क हिलो र चिप्लो हुँदा उकालोमा सवारीसाधन पार हुन नसक्दा सवारीको जाम लागेको छ । “हल्का वर्षामा पनि गाडी चिप्लिएर गुड्न सकेका छैनन्, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ”, प्रहरी उपरीक्षक खड्काले भने, “पूर्वबाट पश्चिम जाने सवारीहरू उकालोमा चिप्लिएकाले अहिले सडक अवरुद्ध भएको छ ।” दाउन्ने खण्डमा सडक अवरोध भएकाले सवारी आवागमनमा समस्या भएको जनाउँदै मर्मत सञ्चालनको प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डको निर्माण नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।
यसैबीच नारायणघाट–बुटवल सडक आयोजना कार्यालयले यही चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त सण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको हो । अहिले साना तथा लामो दूरीका यात्रुवाहक र आकस्मिक सेवाका सवारीसाधन सञ्चालन भइरहे पनि समस्या भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।


