Shittalpati
सरकारी जागिर छोडेर बाख्रापालनमा रमाउँदै नरबहादुर

रमेश विश्वकर्मा
गुल्मी । ३० वर्ष अघि भारतमा रहेको सरकारी जागिर छाडेर जिल्लाका एक कृषक बाख्रापालनमा रमाएका छन् । मालिका गाउँपालिका ५ छापहिलेका नरबहादुर महतारा सरकारी जागिर छोडेर अहिले लालीगुराँस बाख्राफार्मम खोलेर बाख्रापालनमा रमाएका हुन् । ३० बर्ष अघि भारतमा गर्दै आएको सरकारी जागिर छोडेर नेपाल मै केही गर्छु भनेर फर्र्किएका महताराले गाउँमा बाख्राफार्म खोलेका छन् ।

केही समय भारतमा सरकारी जागिर गरिरहँदा परदेशको पीडा र दुःखका कारण उनको मनमा नेपाल मै केही गर्छु भन्ने भावाना पलाएको उनी बताउँछन् । ‘मानिस स्वतन्त्र हुन पाउनु पर्छ ।’ उनले भने ‘अरुको अधिनमा बस्न र उपनिवेश बन्न मेरो मनले मानेन् ।’ महताराको बाख्राफार्ममा अहिले ७० भन्दा बढी बाख्राहरु रहेका छन् । सुरुमा तीनटा बाख्राबाट पाल्न सुरु गरेको बाख्रा फार्ममा अहिले माउबाख्रा ४५ , बोका १५ र पाठापाठी १३ को सख्यामा रहेका छन् । उनी बाख्रापालनसँगै समाजसेवामा पनि उत्तिकै अग्रसर रहेका छन् । उनले फार्मबाट मासिक रुपमा औसत ३० हजार कमाउने गरेको बताउँछन् ।

समाज सेवामा पनि उत्तिकै अग्रसर महतारा वि.सं २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलिय प्रजातन्त्रको पुनःस्थापना भएपछि छापहिले वडा ८ को वडाध्यक्ष भए । उनको कार्यकाल ५ वर्षको रÞयो । महताराले पाँच वर्षको समय अविधमा गाउँमा निकै उल्लेख्यनीय काम गरेको स्थानीय बताउँछन् । गाउँमा पाटी, पौवा, धारा, चौपारी बनाउने देखिलिएर थुप्रै विकास निर्माणका कामममा मुख्य देन रहेको महताराको भनाई छ । नेपालमा पहिलो पटक जग्गाको नाप जाँच हुँदा उनले वडाध्यक्षको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनी अरुको अधिनमा रहेर बस्न चाहदैनन् । अझ विदेश भनेपछि वाक्क नै मान्छन् । विदेशमा गए घुम्न मात्रै जाने काम गर्न नजाने महताराको भनाई छ । ‘सके सम्म विदेश जानहुन्न ।’ उनी भन्छन् ‘मेरो घरपरिवारका अहिलेसम्म कोही विदेश गएका छैनन् ।’ उनका पाँच छोरा र दुई छोरी गरी सात सन्तान रहेका छन् । सबै जागिर तथा पढाईका लागि घर बाहिर छन् । श्रीमतीले पनि बाख्राफार्ममा उनलाई सघाउँछिन् । सात सन्तान हुर्काउन, बढाउन र पढाउन बाख्राफार्मको आम्दानीले नै पुगेको उनी बताउन्छन् ।

महतारा अहिले ६८ वर्षका पुगे । ६८ वर्ष पुग्दा समेत बाख्राफार्ममा रमाइरहनु भएकोे छ यो तपाईको बाध्यता वा रहर हो ? भन्ने प्रश्नमा उनी भन्छन् ‘जीवन एक संघर्ष हो । हामी मृत्युअघि सम्म संघर्षरत हुनुपर्छ । बाध्यता र रहरमा होइन् ।’ जीवन निरन्तर संघर्षमा हुनुपर्ने उनको भनाई छ । उनी भन्छन् ‘म २०/२५ बर्ष सम्म बाख्रासँगै दौडिरहेको छु । मैले चाहेको भए भारतमै जागिर गरेर अहिले पेन्सन हुन्थ्यो । तर म अरुको उपनिवेश बनिन् । नेपाल मै संघर्ष गरिरहेँ । आज पनि संघर्ष गरिरहेको छु । जसकाकारण म स्वतन्त्र छु ।’ विदेश जानुभन्दा त नेपाल मै केही गरेर जीवन सुन्दर बनाउनुपर्ने उनले बताए । महताराले बाख्राफार्मबाट वाार्षिक रुपमा बोका बाख्रा गरी ३५ वटा भन्दा बढी विक्री गर्ने गरेका छन् । उनले अहिलेसम्म छापहिलेसँगै मालिका, मदाने र इस्मामा विक्री हुने गरेको बताए । स्थानीय तहबाट अहिलेसम्म कुनै राहात तथा अनुदान नमिलेको कृषक महताराको गुनासो छ ।

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update