पाल्पा, सदभावन र रङ्गहरुको पर्व होली आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व मंगलबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
मुख्यगरी दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुआत भने होलीको चीर ठड्याएको दिनदेखि नै हुन्छ । यो पर्वले हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने गर्दछ । वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेल्ने परम्परा छ । होलिकै भोलिपल्टबाट ऋतुराज वसन्तको आगमन हुने विश्वास रहेको छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ । विशेषगरी, तराईमा विशेष उल्लासका साथ मनाइने होली पछिल्लो समयमा पहाडमा पनि नाचगान गरेर, साथीभाइ एकआपसमा मिलेर मनाउने गरिन्छ । आसुरी शक्तिकी द्योतक होलिकालाई आगोले भस्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपिनीले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथालगायतका प्रसंग होलीसँग जोडिएको कुरा धार्मिक ग्रन्थमा उल्लेख छ ।
नेपाल, भारत र अन्य राष्ट्रमा हिन्दू तथा गैरहिन्दूहरूका लागि होली महत्वपूर्ण पर्व हो । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिनमा मनाइने प्रमुख चाड हो । हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ । त्रेता युगमा भगवान् विष्णुका परम् भक्त पÞलादसँग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रÞलादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैं आगोमा भष्म भएकी थिइन् र विष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरु भएको मानिन्छ ।वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रंगहरूबीचको सम्बन्ध अनि रंगले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । होलीका दिन मानिसहरूले एक–अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक–अर्कालाई रंगीन बनाउँछन् । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । यो चाडमा विशेष गरी थकालीहरू रङ्गी बिरङ्गी पोसाकमा सजिएर स–परिवार भेला भई तिर हान्ने प्रतियोगिता गर्छन् । आज पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू हातमा रङ र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाउँदै छन् । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरीलगायत रङ लगाउने चलन छ । तर पछिल्लो समय पर्वका नाममा होली खेल्न मन नहुने वा होली नखेलेका व्यक्तिलाई जबर्जस्ती रंग लगाइदिने गरिन्छ ।


