Shittalpati
‘स्वच्छ र  निष्पक्ष निर्वाचनका लागि पत्रकारको भूमिका महत्वपूर्ण’ 

पाल्पा, पाल्पाकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुवँरले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालय पाल्पाले  आयोजना गरेको मतदाता शिक्षा एवं निर्वाचन प्रचार–प्रसारका लागि पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएकी हुन् । 

जिल्लाको सुरक्षा अवस्था मजवुत रहेको भन्दै ढुक्क भएर मतदान गर्ने वातावरण सिर्जना भएको प्रजिअ कुंवरले बताईन् । उनले निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार भइसकेको र संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन  भएको बताईन ।  कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचनमा सत्यतथ्य र यथार्थ समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह समेत गरे । उनले निर्वाचनका क्रममा फैलिने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सूचना प्रवाहलाई सत्यतथ्य र यथार्थमा आधारित बनाइ निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सहयोग गरिदिन भनेका छन् । उनले जिल्लामा मतदान केन्द्रको व्यवस्थापन, मतदाता शिक्षा र जनशक्ति परिचालनको अवस्थाबारे प्रकाश पार्दै निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन कार्यालय प्रतिबद्ध रहेको बताए । अन्तरक्रियामा पत्रकारहरूले निर्वाचन आचारसंहिताको उल्लंघन, उम्मेदवारहरूको बैंक खाता व्यवस्थापन र मतगणनाको तयारीबारे प्रश्न उठाएका थिए । पत्रकारका जिज्ञासाको उत्तर दिँदै आचारसंहिता अनुगमन समितिका सदस्यहरू ऋषिराम सुवेदी र सूर्य प्रसाद अर्यालले आचारसंहिता पालना गराउन समिति सक्रिय रहेको बताए । उम्मेदवारको खर्च पारदर्शी बनाउन बैंक खाता अनिवार्य गरिएको र कुनै पनि उल्लंघनका घटनामा तत्काल कानुनी प्रक्रिया अगाडि बढाइने अनुगमनकर्ताले बताए । पाल्पामा हालसम्म १ वटा लिखित, २४ वटा मौखिक उजुरी आएको र ती उजुरीहरुको समाधान भईसकेको उनीहरुको भनाई छ । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले निर्वाचन सफल बनाउन जिल्लाका सञ्चारकर्मीहरू निरन्तर खटिरहेको बताए ।  निर्वाचन आयोगले अर्बौँ रुपैयाँ खर्च गर्दा पनि मिडिया परिचालन र सूचना प्रवाहका लागि न्यून बजेट पनि विनियोजन नगरेकोमा अध्यक्ष तिमिल्सेनाले  दुःख व्यक्त गरे । निर्वाचन जस्तो महत्वपूर्ण घडीमा मिडिया परिचालनमा एक पैसा पनि विनियोजन नहुनु विडम्बना भएको उनको भनाई छ । जिल्ला निर्वाचन अधिकारी महेश शर्माको अध्यक्षता, लेखापाल विनोद घिमिरेले सञ्चालनमा कार्यक्रम भएको थियो । 

पाल्पा क्षेत्र नं. १ मा  ५२ मतदान स्थल र ११७ मतदान केन्द्र रहेका छन् । जसमा  ९८ हजार ३ सय ८३ मतदाता छन ।  जुनमा १४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।  पाल्पा क्षेत्र नं. २ मा  ६६ मतदान स्थल र १३४ मतदान केन्द्र रहेका छन् जसमा  १ लाख ९ हजार ५३ मतदाता छन् । यहाँ  १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । यसैगरी दुई वटा अस्थायी मतदान केन्द्रमा कारागारबाट ६९ जना बन्दी र टँुडिखेल स्थित मतदान केन्द्रबाट सुरक्षाकर्मी, कर्मचारी गरी १ हजार ८ सय ५४ जना अस्थायी मतदाताले मतदान गर्दै छन् ।   

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update