पाल्पा,नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ठाकुर प्रसाद गैरेले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले रिव्दीकोट गाउँपालिका –३ खस्यौली सिरुपातेमा पत्रकार सम्मेलन गरी आफ्नो ५ बर्षे प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई गन्तव्य बनाएको सार्वजनिक प्रतिबद्धता पत्रमा पाल्पाको सर्वाङ्गिण विकासका लागि विभिन्न रणनीतिक योजनाहरू अघि सारिएका छन् । सडक र यातायातः सडक र पुललाई जीवनस्तर सुधारको आधार मान्दै जिल्लाका सडकको स्तरोन्नति र नयाँ सडक निर्माणलाई प्राथमिकता दिने, १२ महिना २४ सै घण्टा चल्ने सडक सञ्जालको विकास गर्न पहल गर्ने पाण्डेले प्रतिवद्धता जनाएका छन् । शहर, ग्रामीण बस्तीहरूलाई आधुनिक शहरी ढाँचामा विकास गर्ने र तानसेनलाई मौलिक एवं सांस्कृतिक सहरको रूपमा प्रवद्र्धन गर्ने योजना प्रतिवद्धतापत्रमा उल्लेख छ । पाल्पालाई पर्यटनको प्रमुख केन्द्र बनाउन बाँकी रहेका पूर्वाधारका कामहरू सम्पन्न गर्दै नयाँ कार्यक्रमहरु लागु गर्ने, तानसेन र तिनाउको सांस्कृतिक डबलीलाई पर्यटकीय गतिविधिको लागि प्रयोगमा ल्याउने र जिल्लाका तालतलैयाको संरक्षण गर्दै तिनलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने एमाले उम्मेदवार गैरेले प्रतिवद्धतापत्रमा राखेका छन् । संन १८१४–१६ को नेपाल–अंग्रेज युद्धमा जीत हासिल गर्न हातहतियार बनाइएको ठाउँमा ‘उजिरसिंह पार्क’ निर्माण गरी इतिहास र अर्थतन्त्रलाई जोड्ने, आधुनिक तरिकाबाट खेतीः कृषिलाई रोजगारी र पर्याप्त आयको स्रोत बनाउन आधुनिक र प्रविधिमैत्री खेती प्रणालीका योजनाहरु सञ्चालन गर्ने उम्मेदवार गैरेले जनाएका छन् ।
खेतीयोग्य जमिनमा कुलो र नहर पु¥याएर पानीको सुविधा भएका ठाउँमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराई खाद्यान्नमा आत्मनिर्भर बनाउन पहल गर्ने, र रैथाने बाली र अर्गानिक उत्पादनलाई विशेष प्राथमिकता दिइने गैरेको प्रतिवद्धतापत्रमा उल्लेख छ । यस्तै पाल्पा सुहाउँदो उद्योग र व्यवसायलाई प्रोत्साहन गर्दै स्वदेशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने नीति निर्माण गर्ने, सार्वजनिक सेवालाई प्रभावकारी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउन ‘सफा हात, स्वच्छ प्रशासन’ को अवधारणा अघि सारिएको छ । पाल्पा क्षेत्र नं. २ का नागरिकसँग प्रत्यक्ष संवाद गर्न नियमित जनसुनवाई र प्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने समेत उनले संकल्प गरेका छन् । पाल्पा अस्पताललाई प्रमुख स्वास्थ्य केन्द्रको रूपमा रूपान्तरण गरी नागरिकलाई स्वास्थ्य बीमामार्फत सर्वसुलभ सेवा प्रदानको लागि पहल गर्ने, शिक्षालाई सीपसँग र खेलकुदलाई पर्यटनसँग जोड्ने नीति निर्माण गर्ने, जेष्ठ नागरिक मिलन केन्द्र र खुल्ला व्यायामशालाहरूको स्थापना गरी सामाजिक कल्याण सुनिश्चित गरिने उम्मेदवार गैरेले प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।
पाल्पाका सामुदायिक वनलाई पर्यापर्यटन र आयआर्जनको माध्यम बनाउने, डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण र जंगली जनावर तथा मानव बीचको द्वन्द्व न्यूनीकरणका केन्द्रिय रुपमा कानुन बनाई योजनाहरू कार्यान्वयन गर्ने एमाले उम्मेदवार गैरेले प्रतिवद्धतापत्रमा जनाएका छन् । आफु ५ बर्षको लागि निर्वाचित भएको भए पनि विविध कारण ३१ महिनामै पुन निर्वाचनमा आउन परेकोले, आफ्ना अपुरा योजनाहरुलाई पुरा गर्न विजयी बनाउन मतदातालाई गैरेले अपिल गरेका छन् । नेकपा एमालेले पाल्पाले प्रत्यक्षतर्फ क्षेत्र नंं १ बाट नारायण प्रसाद आचार्य, क्षेत्र नंं २ बाट ठाकुर प्रसाद गैरे, समानुपातिकतर्फ ओम बहादुर घर्ती मगर, ठानेश्वर बस्याल र रोजीरन खातुनलाई उम्मेदवार बनाएको छ । पत्रकार सम्मेलन कार्यक्रम एमाले पाल्पाका प्रचार विभाग प्रमुख दिपक विश्वकर्माको अध्यक्षता, एमाले रिब्दीकोट गाउँपालिका कमिटिका अध्यक्ष विष्णु खनालको स्वागत, प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको सञ्चालनमा भएको थियो ।


