Shittalpati
तानसेनको पर्यटनका विषयमा काठमाडौंमा विज्ञसँग छलफल

पाल्पा, तानसेनको पर्यटनका विषयमा काठमाडौंमा क्षेत्रगत विज्ञसँग छलफल भएको छ । तानसेन नगरपालिकाको पर्यटन बोर्डको आयोजनामा तानसेनको पर्यटन क्षेत्रका विषयमा छलफल भएको हो ।

नेपाल पर्यटन बोर्डको कार्यालयमा भएको छलफल कार्यक्रममा तानसेन पर्यटन बोर्डले तयार पारेको तानसेन पर्यटन नीति २०८२ माथि सुझाव संकलनसहित छलफल केन्द्रित भएको थियो । छलफलमा तानसेन आफैमा पर्यटकीय नगर भएकाले यसको विकासमा सबै पक्षको सहयोग आवश्यक रहेको औल्याइएको छ । कार्यक्रममा क्षेत्रगत विज्ञ र कार्यान्वयनकर्ताहरुले तानसेनको पर्यटन विकासले सिंगो देशको नै समृद्धि हुने भएकाले यसको विकासमा सबै लाग्नुपर्नेमा जोड दिए ।  

छलफलमा पुरातत्व विभागसँग मध्यकालिन शहर संरचना, सम्पदाको संरक्षण,व्यवस्थापन र उपयोग, भवन विभागसँग सम्पदायुक्त नगर, संरचना र भवन संहिता, होटल लगानीकर्तासँंग तारे र स्तरिय होटल एवं रिजोर्ट सञ्चालन, युएनडिपी, एसजिपीसँग पर्यापर्यटन, श्रीनगर बन अध्ययन–चौडापाते रुख र आकर्षण,सिमसार क्षेत्र एवं जैविकविविधताको संरक्षण र उपयोग एवं कृषि र आयआर्जन, पर्यटन बोर्डसँग प्रभावशाली परियोजनामा लगानी वृद्धि र प्रवद्र्धन गर्ने विषयमा व्यापक छलफल भएको तानसेन पर्यटन बोर्डका सदस्य पदम न्यौपानेले बताए ।

यस्तै युएनडिपी, एसटीपीसँग तानसेनको ब्राण्ङ्गि र थप कार्यक्रम, आर्किटेक्ट विज्ञहरुसँग भवन, संरचना वा भौतिक पूर्वाधारको डिजाइन र योजना तयार, ट्राभल सम्बद्धसँग सम्पदा पर्यटन प्रवद्र्धन लगायत एडभेन्चर टुरिजम, स्पोर्टस टुरिजम, धार्मिक र आध्यात्मिक टुरिजम, ग्रामीण पर्यटन, शहरी क्षेत्रमा होमस्टे, गाईडहरुसंग आधारभूत आवश्यकता लगायतका विषयमा छलफल र सम्वद्ध विज्ञहरुसँग अनुरोध समेत गरिएको न्यौपानेले जानकारी दिए । छलफलमा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा सिंजाली, प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरी, सहरी विकास मन्त्रालयका उपहानिर्देशक एकराज अधिकारी, नेपाल पर्यटन बोर्डका अनुसन्धान महाशाखाका प्रमुख लक्ष्मण गौतम, पर्यटन बोर्डका बजार महाशाखाका प्रमुख सुनिल शर्मा, पर्यटन बोर्ड संचालक समितिका सदस्य नरेन्द देव भट्ट,  पुरातत्व विभागका विश्व सम्पदा शाखाका प्रतिनिधि, युएनडिपी साना अनुदान कार्यक्रमका राष्ट्रिय कार्यक्रम संयोजक विवेक शर्मा, सिद्धार्थ गु्रप अफ हस्पिटालिटी अध्यक्ष लक्ष्मण न्यौपाने, युएनडिपी दिगो पर्यटन कार्यक्रम प्रमुख धर्म दवाडी तानसेन पर्यटन बोर्डका सदस्य जयन्त भुसाल लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । 
     
 

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update