पाल्पा, प्रजातन्त्र स्थापना भएको ७६ वर्ष भएको छ । आजकै दिन अर्थात् फागुन ७ गते महान् जनक्रान्तिमार्फत् नेपाली समाजलाई राणा शासनको दासताबाट मुक्त गरी आधुनिक युगमा प्रवेश गराउन ढोका खुलेको दिन हो ।
यति लामो अन्तरालमा विश्वका धेरै देशहरूले आर्थिक रूपमा कायापलट गरे । तर, नेपालले अझै स्थायित्व प्राप्त गर्न सकेको छैन् । यो अवधिमा आर्थिक विकास र समृद्धिको नारा मात्रै लागे । काम भएन । राजनीतिक परिवर्तन र संघर्षको अवस्था हेर्ने हो भने देशको विकास दु्रत गतिमा हुनुपथ्र्यो । त्यो हुन सकेन । जनतद्वारा जनताका लागि जनताले गर्ने शासन व्यवस्था नै प्रजातन्त्र भए पनि त्यो नारा मात्रै भएको राजनीतिक विश्लेषकहरु नै बताउँछन् । राजनीतिक विश्लेषक केदार गौतम भन्छन्, “यो देश २००७ सालदेखि नै संक्रमणकालमा नै छ । २०७२ सालमा संविधानसभाबाट संविधान बने पनि संक्रमण हट्ला भने आशा थियो । तर, अवस्था त्यस्तो आएन ।” दलका नेताहरूको अदूरदर्शिता, दीर्घकालीन सोचको अभाव र आपसी खिचातानीले प्राप्त उपलब्धि नै बेलाबखत गुम्दै आएको छ । प्रजातन्त्र घोषणाको दिनले आसन मात्र होइन, देशको शासन नै बदलियो । फेरिएको व्यवस्थासँगै मुलुकमा विद्यमान गरिबी, पछौटेपन, विभेद अन्त्य हुने धेरैको बुझाइ र विश्वास पनि थियो । तर शासन व्यवस्था र शासक फेरिएको ७५ वर्ष पूरा हुँदासम्म जनताकोे आशा र अपेक्षा अनुसार काम हुन भने सकेको छैन । जसले गर्दा व्यवस्था फेरिए पनि जनताको अवस्था भने उस्तै भएको अनूभूत आम नाागरिकमा छ । व्यवस्था र शासक फेरिए पनि प्रवृति नबदलिँदा जनताले लामो संघर्षबाट मुलुकमा स्थापित प्रजातन्त्रको वास्तविक अनुभूति गर्न नसकेको राजनीतिक विश्लेषक राजेन्द्र श्रेष्ठले बताए । “व्यवस्था त फे¥यौं तर नयाँ व्यवस्था हाँक्ने पात्र, प्रवृत्ति र मानसिकता फेर्न सकिएन,” श्रेष्ठ भन्छन्, “फेरिएका पात्रले नै प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोकको विषय बनाए ।” २००७ सालपछि बनेका कुनै पनि सरकार पूरा अवधि टिकेका छैनन् ।
जसले गर्दा मुलुकले अझै पनि स्थायित्व प्राप्त गर्न सकेको छैन् । २००७ सालमा प्रजातन्त्र आएपछि पहिलो प्रधानमन्त्री मोहनशमशेर जबरा भए । उनको शासन पनि लामो टिकेन । त्यसपछि मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री बने । पार्टीभित्रकै खिचातानी र विवादले कोइराला पनि छोटो समयमा सत्ताबाट बाहिरिनु पर्यो । त्यसपछि डा. केआइ सिंह, टंकप्रसाद आचार्य प्रधानमन्त्री बने । उनीहरूको अवधि पनि छोटो नै रÞयो । त्यसपछि सुवर्णशमशेर राणालाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइयो । उनले २०१५ सालको आमनिर्वाचन गरे । अनि बीपी कोइराला प्रधानमन्त्री बने । राजा महेन्द्रले २०१७ सालमा कोइरालाको दुईतिहाइको सरकारलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिए । २००७ देखि २०१७ सालसम्म अस्थिर नै समय रहयो । पञ्चायत आएपछि पहिलो मन्त्रिपरिषद्को अध्यक्ष डा. तुलसी गिरी बने । त्यसपछि सूर्यबहादुर थापा मन्त्रिपरिषिद्कै अध्यक्ष बनाइए । २०२५ सालमा आएर मात्रै कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाइयो । नागेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द, मरिचमान श्रेष्ठ प्रधानमन्त्री भए । पञ्चायतमा आलोपालो गरेर पुरानैअनुसार दोहोर्याइयो तर पूरा अवधि भने कसैलाई पनि बनाइए । २०४६ पछिको अवस्था पनि यस्तै छ । अन्तिमकालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने । त्यसपछि आमनिर्वाचनले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनायो । कांग्रेसबाट बहुमतसहित प्रधानमन्त्री बनेका कोइरालाको सरकार पनि ३ वर्षभन्दा लामो समय टिकेन । २०५१ मा मध्यवधि भयो । एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने । उनको सरकार लोकप्रिय भए पनि ९ महिनाभन्दा बढी टिकेन । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भए । देउवापछि लोकेन्द्रबहादुर चन्द, सूर्यबहाुर थापा प्रधानमन्त्री बने । पुनः गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । २०५१ देखि २०५६ को अबधिमा अझ धेरै सरकार परिर्वतन भए । २०५६ सालको निर्वाचन पनि कांग्रेसले बहुमत ल्यायो तर कांग्रेसबाटै प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराई छोटा अबधिमा पदच्युत गरियो । फेरि गिराजाप्रसाद कोइराला प्रधानमन्त्री बने । कोइरालापछि देउवा बने । राजा ज्ञानेन्द्रले अक्षम भन्दै देउवालाई हटाएर सत्ता आफ्नै हात लिए । २०६२/६३ को जनआन्दोलनपछि धेरै प्रधानमन्त्री परिवर्तन भए । पहिलो संविधानसभाबाट पुष्पकमल दाहाल प्रधानमन्त्री बने । उनको सरकार ९ महिनामा ढल्यो । त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने । निर्वाचन गराउनका लागि दलहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष पनि त्यही अबधिमा बनाए । २०७० को दोस्रो संविधान सभापछि सुशील कोइराला प्रधानमन्त्री भए । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । ओलीपछि दाहाल, दाहालपछि देउवा एक अर्कामा आलोपालो जस्तै बन्दै आए । यस अघि प्रधान्मन्त्री रहेका ओली नेतृत्वको सरकार जेनजी आन्दोलनपछि ढल्यो र हाल अन्तरिम सरकारको नेतृत्व शुसिला कार्कीले गरिरहेकी छन् ।
प्रजातन्त्र प्राप्तिका लागि योगदान दिएका महान् योद्वा र उनीहरुको सपनालाई साकार पार्ने संकल्पका साथ हरेक वर्ष फागुन ७ गते अर्थात् आजकै दिन राजनीतिक दल र सरकारले विभिन्न कार्यक्रम गरी २००७ फागुन ७ गतेको स्मरण गर्छन्, र प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन् । तर, दुखको कुरा प्रजातन्त्रको मर्म र भावना कसैले आत्मसात् गर्न सकेका छैनन् । जसका कारण मुलुकले स्थायित्व पाउन सकेको छैन । प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ । दिवसका अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।


