पाल्पा, बिहीबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । सुन प्रतितोला २० हजार ५ सयले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ३ लाख ३९ हजार ३ सय तोकिएको छ । बुधबार भने घरेलु बजारमा सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार चाँदीको भाउ पनि २ सय ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बिहीबार चाँदीको भाउ ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५ सय ६० र त्यति नै परिमाणको सेतो धातु १ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ । केही दिनयता नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्य हरेक दिन उकालो लागिरहेको छ ।
सुन र अमेरिकी डलरको बजार मूल्य÷विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरहँदा त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष असर आम उपभोक्ताको खरिद क्षमतासँगै समग्र अर्थतन्त्रमा परेको छ । अकासिँदो सुनको मूल्यले घरेलु बजारमा हलचल ल्याएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा निरन्तर कमजोर बनिरहँदा आयातकर्ता मात्र होइन आम नागरिकमा पनि तरंग उब्जाइरहेको छ । यस्तै नेपाली बजारमा चाँदीको अभाव भएको छ । केही दिनयता बजारमा चाँदीको माग बढिरहेका बेला स्टक सकिएको भन्दै व्यवसायीहरूले चाँदी बिक्री गरेका छैनन् । बैंकले चाँदी बिक्री नगरेको र आफूहरूसँग भएको स्टक सकिएकाले मागअनुसार चाँदी बिक्री गर्न नसकिएको सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । बैंकले आफूसँग चाँदी नभएको भन्दै बेचेका छैनन् । बैंकले नबेचेपछि बजारमा चाँदी अभाव भएको बुझिएको छ ।


