Shittalpati
पाल्पामा दुई पदका लागि ३० जना चुनावी मैदानमा

पाल्पा, दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा ३० जनाको उम्मेदवारी परेको छ । दुई पदका लागि  आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाबाट सात स्वतन्त्रसहित ३० जना चुनावी मैदानमा उत्रिएका छन् । 

मंगलबार क्षेत्र नं.२ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं १ को रामपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारहरूले फूलमाला लगाएर बाजागाजाका साथ दलबल लिएर मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराएका हुन् । विगतका निर्वाचनहरु भन्दा यस पटक अधिकांस दलहरुले  नयाँ र युवा उम्मेदवारहरु उठाएपछि मतदाहरुमा उत्साह छाएको  छ । जिल्लामा नेपाली काँग्रेसले दुवै जना नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेले निवर्तमान सांसदलाई नै उम्मेदवार बनाएको छ । रास्वपाले दुबै निर्वाचन क्षेत्रमा नयाँ उम्मेदवार बनाएको छ । नेकपाले पूर्व उद्योगमन्त्रीलाई उम्मेदवार बनाएको छ । यहाँ अधिकाशं उम्मेदवार नयाँ रहेका छन् । जिल्लामा  एक जना राष्ट्रिय जनमोर्चाबाट मात्र महिला उम्मेदवारी परेको छ ।  निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार १४ राजनीतिक दल र ७ जना स्वतन्त्र गरी ३० जनाले  उम्मेदवारी मनोनयन दर्ता गराई चुनावी मैदानमा उत्रिएका हुन् । पाल्पा क्षेत्र नं. १ बाट ९ दल र ४ स्वतन्त्रले उम्मेदवारी दिएका छन् । 

यहाँ नेकपा एमालेबाट निवर्तमान सासंद नारायण प्रसाद आर्चाय, नेपाली नेपाली काँग्रेसबाट युवा नेता सन्दिप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिमल पन्त ,राष्ट्रिय जनमोर्चाबाट नरमती सिंजालीले उम्मेदवारी दिएका पाल्पा क्षेत्र नं. १ का निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए । यस्तै मंगोल नेशनल अर्गनाइजेसनबाट सलन चिदी, नेशनल रिपब्लिक नेपालबाट थमन सिंह रेग्मी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट पुरन गैरे शर्मा, स्वतन्त्रबाट कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा, वाछावली मियाले मनोनयन दर्ता गराएका छन् । यस्तै  पाल्पा क्षेत्र नं. २ बाट १४ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेवारले मनोनयन दर्ता गरेका छन् । यहाँ नेकपा एमालेबाट निर्वमान सासंद ठाकुर गैरे, नेपाली कांग्रेसबाट जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधव बहादुर थापाले उम्मेदवारी दिएका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष बालबहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देव प्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादी एकल चुनाव चिन्हबाट खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्तिबाट टोपबहादुर अस्लामी, मंगोल नेसनल अर्गनाईजेसनबाट मानबहादुर दर्लामी, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)बाट विष्णु ठडराई, प्रगतिशिल लोकतान्त्रिक पार्टी बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण सोभा मुस्याख्वले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी स्वतन्त्रबाट मोहन कुमार थापा, देवी प्रसाद भण्डारी र केशवप्रसाद बस्याल गरी १७ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केवश पराजुलीले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचन कार्यतालिका अनुसार मनोनयन पत्र दर्ता गरी उम्मेदवारको सूचीमा समावेश भएका उम्मेदवारविरुद्ध बुधबार उजुरी दिने कार्य तालिका रहेको थियो । कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिए पनि पाल्पामा कुनै पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update