काठमाडौं, नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको भिडभाड अत्याधिक देखिन थालेको छ । देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइपुग्न थालेसँगै महाधिवेशन स्थल आसपासमा चहलपहल तीव्र बन्दै गएको हो ।
पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू क्रमशः भृकुटीमण्डप पुग्न थालेको केन्द्रीय सदस्य अजय बाबु शिवाकोटेले जानकारी दिए । मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगिरहँदा प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थितिले स्थल क्षेत्र थप सक्रिय देखिएको छ ।महाधिवेशन व्यवस्थापन समितिका अनुसार हिजोदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै धमाधम अगाडि बढेका छन् । प्रतिनिधिहरू आउन थालेपछि स्वयंसेवकहरू परिचालन गरिँदै स्थल व्यवस्थापनलाई थप चुस्त बनाइएको जनपरिचालन समितिका सदस्य सचिव सुसन वैद्यले जानकारी दिए । भृकुटीमण्डप परिसरमा पार्टीका झन्डा, ब्यानर तथा प्रचार सामग्री राख्ने काम भइरहेको छ भने प्रवेशद्वार व्यवस्थापन, सुरक्षासम्बन्धी समन्वय र यातायात व्यवस्थापनमा पनि तयारी तीव्र पारिएको प्रचारप्रसार समितिका सदस्य सचिव माधव चम्लागांईले बताए ।


-1762576335.jpg)