वर्तमान सरकारले निर्वाचन गराउने गरी तयारीलाई तिव्र पारेको छ । चुनावी माहोलले नेपालको राजनीति तरंगित बनिरहेको छ । विभिन्न कोणबाट चुनावकेन्द्रित बहसहरू भइरहेका छन् । तर राजनीतिक दलहरु भने आरोप पत्यारोपमै उत्रिएका छन् । विशेष गरी नयाँ दलहरुले पुरा दलहरुले केही पनि गर्न सकेनन् भन्दै आरोप लगाएका छन् । चुनावी बहसहरूमा स्थापित पार्टीका शीर्षस्थ नेताहरूलाई हराउनुपर्ने र चुनावी गठबन्धन गर्न हुने–नहुने विषयले सबैभन्दा बढी ठाउँ पाएका छन् । देशमा वर्षौंदेखि सुशासन नकारात्मक दिशामा छ र यसको प्रवृत्ति बढ्दो छ । विकृत अभ्यासमा राजनीतिक पार्टीहरू र तिनका शीर्ष नेतृत्वले कुनै कसर बाँकी राखेका छैनन् । जुनसुकै पार्टीका भए पनि केही वर्षदेखिका सरकारका गतिविधिहरूले उनीहरूमा न्यूनतम नैतिकता, जवाफदेही पनि नभएको प्रमाण दिएका छन् । त्यसैले त वर्तमानमा राजनीतिले आम मानिसलाई निराश बनाएको छ र बहुसंख्यक नेतृत्वसँग जनताको वितृष्णा चरममा पुगेको छ । जसको परिणाम जनता र देशले जेनजी आन्दोलनबाट भोग्नु परेको छ ।
नेतृत्व र आम जनताबीच टुटेको भरोसा, कमजोर चरित्र र विगतका गम्भीर त्रुटिहरूको आत्मस्वीकृतिको अभाव नै आजको संकटको मूल जड हो । हिजो शासन सञ्चालन गर्दा गरिएका गलत निर्णय, भ्रष्ट अभ्यास, सत्ताको दुरुपयोग र जनअपेक्षाप्रतिको उपेक्षाबाट पाठ सिक्नुको सट्टा आज पनि उही गल्ती दोहोर्याउने संकेत देखिनु चिन्ताजनक छ । अब नेताहरूले आत्मसमीक्षासहित सार्वजनिक रूपमा त्रुटि स्वीकार गर्दै आगामी दिनमा गल्ती नगर्ने स्पष्ट प्रण गर्नै पर्छ । जनतासँग पुनः नाता जोड्ने पहिलो आधार नै यही हो । हाल बालेन साह र रवि लामिछानेबीच भएको सातबुँदे सहमतिले पुराना राजनीतिक दलहरूलाई स्वाभाविक रूपमा दबाबमा पारेको छ । पुराना दलहरू आत्तिएको देखिनु संयोग होइन । यो दबाब उनीहरूले हिजो गरेका अक्षमता, अहंकार र भ्रष्ट प्रवृत्तिको प्रतिफल हो । आज वैकल्पिक शक्तिको उदय आकस्मिक होइन; त्यो पुराना दलहरूकै असफल शासनको परिणाम हो भन्ने तथ्य स्वीकार गर्नै पर्छ । तर यसको अर्थ पुराना दलहरूलाई पूर्णरूपमा निषेध गर्दै अघि बढ्नुपर्छ भन्ने होइन । इतिहासले बारम्बार सिकाएको पाठ के हो भने, अनुभव र जोशबीच सन्तुलन नबनाई समृद्धि सम्भव हुँदैन । पुरानाहरूको अनुभव र नयाँहरूको ऊर्जा, इमानदारिता र प्रतिबद्धता एक–आपसमा जोडिन सके मात्र देशले दिगो विकासको बाटो समाउन सक्छ । यसै कारण, नयाँ र वैकल्पिक शक्ति भनेर चिनिएका दल तथा नेतृत्वले पनि पुरानाहरूप्रति सत्तोसराप र प्रतिशोधको राजनीति गर्नु शोभनीय हुँदैन । उनीहरू झनै उदार, लोकतान्त्रिक मूल्यमा अडिग र विकासप्रति स्पष्ट प्रतिबद्ध देखिनु आजको आवश्यकता हो ।

