घोडाघोडी (कैलाली), नेपालको पहिलो चरा अभय आरण्य (वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको संख्या बढेको छ । जैविक विविधताले महत्वपूर्ण मानिएको घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोलीले यही पुस १९ गतेदेखि २१ गतेसम्म जलपन्छी गणना गरेको थियो ।
गणनाका क्रममा यस पटक घोडाघोडीको सूचक प्रजाति हरिहाँसको संख्या बढेको चरा संरक्षण नेटवर्कका सचिव रामकुमार चौधरीले जानकारी दिए । घोडाघोडी क्षेत्रमा जलपन्छीको गणना हिउँद र वर्षायाम गरी प्रत्येक वर्ष दुई पटक गरिँदै आइएको उनले बताए ।
सोही कार्यक्रमअनुसार यस वर्ष पनि जलपन्छी गणना सम्पन्न गरिएको हो । “सन् २०२२ मा हरिहाँस ३९४ वटा रहेकामा सन् २०२३ मा घटेर ३१६ पुगेको थियो । सन् २०२४ मा यो संख्या ४११, सन् २०२५ मा ३७२ रहेकामा यस वर्ष उक्त संख्या बढेर ४२९ पुगेको छ”, सचिव चौधरीले भने । उनका अनुसार यस वर्ष जलपन्छीको ंसंख्या भने घटेको छ । सन् २०२२ मा एक हजार ६ सय ८५ जलपन्छी गणना गरिएको थियो । सन् २०२३ मा एक हजार २२१, सन् २०२४ मा एक हजार ४ सय ३७, सन् २०२५ मा एक हजार ३ सय १६ जलपन्छी गणना भएकामा यस वर्ष घटेर एक हजार १ सय ६८ मा सीमित भएको चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले जानकारी दिए । नेपालमै सबैभन्दा बढी तालतलैया भएको जिल्लाका रूपमा कैलाली परिचित छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो प्राकृतिक ताल हो ।
घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल छन् । घोडाघोडी र नकरोड ताल चराको बासस्थानका लागि सबैभन्दा उपयुक्त मानिने चरा संरक्षण नेटवर्कका अध्यक्ष चौधरीले बताए । उनका अनुसार घोडाघोडीसहित आसपासका क्षेत्रमा जलपन्छी गणना गरिएको हो । चौधरीका अनुसार घोडाघोडीमा पहिले दुई हजार २०० को हाराहारी जलपन्छी रहेकामा त्यो संख्या एक हजार १०० मा समेटिएको छ । “बच्चा कोरल्न र हुर्काउनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा चराको बासस्थान असुरक्षित बन्दै जानु, आहारा घट्दै जानु, मौसम प्रतिकूल हुनुलगायत कारणले सङ्ख्या घट्दै गएको छ”, उनले भने । घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्त्वपूर्ण बासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो ‘चरा अभय आरण्य’ (चराहरूको बासस्थान, प्रजनन र संरक्षणका लागि छुट्याइएको विशेष संरक्षित क्षेत्र) क्षेत्रका रूपमा घोषणा गरेको थियो । यहाँ ३८१ प्रजातिका चरा पाइन्छन् ।


-1762576335.jpg)