Shittalpati
पूर्वखोला गाउँपालिकाको सार्वजनिक सूनुवाई  

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिकाले आर्थिक बर्ष २०८२ को श्रावण देखी पुस १७ गते सम्म कार्यालयले प्रदान गरेको सेवा प्रवाह एक कार्यक्रम गरी सार्वजनिक गरेको छ । कार्यालयले प्रथम चौमासिक सार्वजनिक सूनुवाइ मार्फत चालु आर्थिक बर्षको हालसम्म भएका गतिविधीहरु सावजनिक गर्दै जनताका गुनासा, सुझाव, अपेक्षाहरु संकलन गरेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले  प्रथम चौमासिक अवधिमा भएका कार्यक्रम गतिविधी, आम्दानी खर्च विषयबस्तु प्रस्तुत गरे । हालसम्म पूर्वखोला गाउँपालिकाले ४० दशमलव ७६ प्रतिशत बजेट कार्यान्वयन गरी कुल प्रगति हासिल गरेको, उपभोक्ता समितिका ३२४ जनालाई योजना सम्झौता, कार्यान्यन, फरफारकका विषयमा तालिम प्रदान गरेको, २२२ वठा ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको, २४ वटा सम्वन्ध विच्छेद भएको, १५३ जना बसाई सराई गरी गएको र १३ जना आएको, १८ लाख ७२ हजार आन्तरीक राजश्व संकलन भएको, २ हजार ४ सय ६८ जनालाई सामाजिक सुरक्षा भत्ता बापत २ करोड ५१ लाख ७३ हजार रुपैयाँ वितरण गरेको, प्रधानमन्त्री रोजगार कार्यक्रममा २४६ जना सूचिकृत भएको, १६ जना मानसिक समस्या भएकालाई मनोपरामर्श सेवा प्रदान गरेको, श्रावणदेखी मंसिर महिना सम्म ८१९७ जना नयाँ विरामीले सेवा लिएको, गाउँपालिका भित्रका सबै विद्यालयका शिक्षक, कर्मचारी गरी ४०४ जनाको सामुहिक दुर्घटना बिमा पालिकाले गरिदिएको, ३६ जना अभिभावक विहिन बालबालिकालाई ६ हजार देखी ९ हजार रुपैयाँसम्म छात्रबृत्ति प्रदान गरिएको कार्यप्रगति प्रमुख प्रशासकीय अधिकृत नेपालले सार्वजनिक सूनुवाईमा प्रस्तुत गरे ।  कार्यक्रममा जनताहरुले हुमिन पूर्वखोला पहुँच मार्गको निर्माणमा ढिला सुस्ती भएको, कृषि तथा पशु प्राविधिकहरुलाई कृषकको घरदैलोमा नियमित रुपमा परिचालन गर्नुपर्ने, योजनाहरुको बढी भन्दा बढी अनुगमन बढाउनु पर्ने, सबै वडा बाट एक एक सवारी साधन पालिकाको केन्द्र सम्म नियमित रुपमा सञ्चालनको व्यस्था मिलाउनु पर्ने, सामाजिक सुरक्षा भत्ता वडा वडा बाटै वितरण गर्नुपर्ने, विधालयमा सस्कार सहितको शिक्षा प्रदान गर्नु पर्ने, कुलो सिंचाईको योजनाहरु बढाउनु पर्ने, नागरिक गुनासो कक्ष सञ्चालन गर्नुपर्ने,  नागरिक मैत्री सेवा सुविधा प्रदान गर्नुपर्ने, प्रत्येक वडामा हाट बजार संचालन गर्नुपर्ने, गुणस्तरीय विउ विजन समयमै उपलब्ध गराउनु पर्ने, सुझाव दिएका थिए । 

जनताले गरेका गुनासा, सुझाव तथा अपेक्षाको बारेमा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले जवाफ दिएका थिए । पूर्वखोलको विकास निर्माण, जनताको सेवा सुविधाको लागी निरन्तर लागि परेको बताउदै अध्यक्ष थापाले पालिका भित्र बाट ४ अर्व रकम बराबरका योजनाका कार्यक्रम र बजेट माग आउछन तर बजेटको सिमितताले योजना प्राथमिककरण गरेर स्विकृत गरिने बताए । निर्वाचित भएपछि सबैपक्षलाई समान व्यबहार गरी काम गर्दै आएको अध्यक्ष थापाले बताए । 
    कार्यालय तथा प्रशासनिक तर्फ आएका गुनासाहरुको प्रमुख प्रशासकीय अधिकृत नेपालले जवाफ दिदै आई परेका समस्याहरु अन्य शाखा बाट समाधान हुन नसकेका कामहरु आफुलाई भेटेर जानकारी गराउन सेवाग्राहीलाई अनुरोध गरे । सार्वजनिक सूनुवाईमा आएका गुनासा, सुझाव र मागहरुलाई लिपिबद्ध गरेर कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत नेपालले बताए । 
    कार्यmक्रममा विभिन्न राजनितिक दलका नेताहरु, उपभोक्ताहरु, शिक्षकहरुले गरेका  गुनासा, सुझावहरुलाई  सुन्ने मात्र होईन  कार्यपालिकाको बैठकमा पेश गरी कार्यान्वयन गरिने उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले बताईन ।  पालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भागिरथी शर्मा भट्टराईको स्वागत पाल्पा विकास केन्द्रका संयोजक किरण कौशलको संचालनमा सार्वजनिक सूनुवाई भएको थियो । 

 गाउँपालिकाले प्रदान गरेको सेवाप्रवाहलाई नागरिक स्तरबाट मुल्याङ्ककन गराउने, तथा सेवा प्रवाहमा थप प्रभावकारीता बढाउने, सुधार ल्याउने, उद्देश्यले सार्वजनिक सूनुवाई गरिएको पालिकाले जनाएको छ । जनताको सूसुचित हुने अधिकार स्थापित गर्न, तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी दिगो, भरपर्दाे बनाउदै स्थानीय सरकारले सम्पादन गरेका हरेक कार्यहरु सामाजिक परिक्षण गराएर अनुमोदन गर्न  सार्वजनिक सूनुवाई गरिएको पूर्वखोला गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update