आज पुस १७ गते अर्थात् टोपी दिवस । नेपाली स्वाभिमान, सांस्कृतिक निरन्तरता र पहिचान संरक्षणका लागि यो दिवस महत्वपूर्ण बन्न पुगेको छ । नेपाल यसै पनि विभिन्न जातजाति, भेषभूषा र संस्कृति बोकेको बहुआयामिक मुलुक हो । पछिल्लो समय राष्ट्रिय भावनाले ओतप्रोत भएका युवाहरुले राष्ट्रियता र मुलुकको मौलिक विशेषता झल्काउने खालका कार्यक्रम गर्दै आएका छन् ।
विभिन्न संघसंस्था एवम् समुदायले विविध कार्यक्रमका साथ यो दिवस मनाउँदै आएका छन् । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा यो दिवस मनाउने गर्दछन् । दिवस मनाउनुुलाई सकारात्मक रुपमा लिनुपर्छ । तर पछिल्लो समय अंग्रेजी वर्ष मनाउन मरिहत्ते गर्ने नेपालीले आफ्नो मौलिक संस्कृति बिर्संदै गएको नेपाली नयाँ वर्षलाई महत्व नदिएबाटै प्रस्ट हुन्छ । जे होस् जस्तै भए पनि अंग्रेजी नयाँ वर्षकै दिन नेपालीहरुले टोपी दिवस मनाउनुलाई अन्यथा मान्नु हुँदैन । भलै, सामाजिक सञ्जालमा तस्बिर राख्न नै किन नहोस्, टोपी दिवस मनाउने युवा जमात बढिरहेको छ । टोपी नेपालीहरुको मौलिक पहिचान हो । ढाकाको कपडामा तयार पारिने टोपी पुरुषहरुले लगाउने एक प्रकारको टोपी हो । निदार सहति सम्पूर्ण टाउको ढाक्ने भएकोले पनि यसलाई ढाका टोपी भनिने जनविश्वास छ ।
टोपी लगाएर हिँड्दा नेपाली हुँ भन्ने छुट्टै गर्वानुभूति हुन्छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा टोपी लगाएर र्याली निकाल्दै छन् । पुराना पाका पुस्ताहरुमा सिमित रहेको ढाका टोपी पछिल्लो समय केही नयाँ पुस्ताका युवाहरुले समेत लगाउन थालेका छन् । यो ढाका टोपी दिवसको प्रभाव हो भन्दा फरक पर्दैन । दिवसले आफ्नो संस्कृति तथा संस्कारको संरक्षण गर्नमा ठूलो योगदान पुु¥याएको छ । यसर्थ सबै नेपालीहरु स्वदेश–विदेश जो–जहाँ भए पनि राष्ट्रको सार्वभौमसत्ता जोगाउन, देशको स्थायित्वका लागि हिन्दुराष्ट्रसहित नेपालको राष्ट्रिय टोपी कायम राखी विश्वमा आफ्नो पहिचान कायम राख्न प्रतिबद्ध रहौं ।

