जेन–जी आन्दोलनपछि देशले नयाँ मोड लिएको छ । देश अहिले चुनावी प्रक्रियामा प्रवेश गरेको छ । यसबीच एमालेले महाधिवेशन टुंग्याएको छ । कांग्रेस आन्तरिक किचलोमै अल्झिएको छ । केही दल फुटेका छन् । केही जुटेका छन् । युवाहरूको वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा उभिन थालेका छन् भने पुराना दलहरु सोच्न बाध्य भएका छन् । लामो समयदेखि नेपाली राजनीतिमा पुराना दलहरूमाथि– स्थिरता दिन नसक्नु, सुशासनमा असफल हुनु र सत्ता स्वार्थमा डुब्नु जस्ता आरोप दोहोरिँदै आएका छन् । जसको फलस्वरुप जेन–जी आन्दोलन भएको हो । यो युवा पुस्ताको असन्तोषको अभिव्यक्ति थियो । अब यही आन्दोलनको जगमा युवाहरूको वैकल्पिक राजनीतिक शक्ति चुनावी मैदानमा उत्रिन एक ठाउँमा उभिन थालेका छन् ।
खास गरी राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र कुलमान घिसिङ एकै ठाउँमा आउनुले नेपाली राजनीतिमा स्पष्टरूपमा नयाँ ध्रुवीकरणको संकेत दिएको छ । लामो समयदेखि असन्तुष्टि, निराशा र विकल्पको खोजीमा रहेको जनमतले यो एकतालाई स्वाभाविक रूपमा चासोका साथ हेरिरहेको छ । तर यहाँ एक महत्वपूर्ण यथार्थ बुझ्न जरुरी छ । यो अवस्था न त नयाँ शक्तिले मात्तिने हो, न त पुराना शक्तिले आत्तिने ।
विगतमा पनि वैकल्पिक दाबी गर्दै आएका कतिपय शक्ति ख्याउटे सावित भए । कतिपय लोसे देखिए । कतिपय त इतिहासमै बिलाए । कारण एउटै थियो– स्पष्ट नीति नहुनु, संगठन कमजोर हुनु र सत्ताको पहिलो स्वादमै लहसिनु । त्यसैले यो चुनाव युवाहरूका वैकल्पिक शक्तिका लागि अवसर मात्र होइन, कठोर परीक्षा पनि हो । पुराना दललाई गाली गरेर मात्र नयाँ बन्न सकिँदैन । सुशासन, पारदर्शिता, आर्थिक दृष्टिकोण, संघीयताको व्यावहारिक कार्यान्वयन र समावेशी लोकतन्त्रबारे स्पष्ट उत्तर दिनुपर्छ । आन्दोलनको ऊर्जा नीति र कार्यक्रममै अनुवाद हुन सकेन भने जनताले दिएको मौका पनि क्षणिक हुनेछ । यो चुनाव पुराना दलहरूका लागि पनि आत्मसमीक्षाको घडी हो । जनताले बारम्बार दिएको चेतावनी बेवास्ता गर्ने छुट अब छैन । तसर्थ अब पुराना दल सुध्रिने, नयाँ शक्ति जिम्मेवार बनेर मुलुकको विकासमा लान जरुरी छ ।

