Shittalpati
‘क्रिसमस डे’ को सन्दर्भ

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ । आज देशभरका इसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । ‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ । क्रिसमस सबभन्दा पहिले ईपू ३३६ अर्थात् चौँथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येसु) ख्रिस्टको जन्म दिवसको अवसरमा २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने घोषणा गरिदिएका हुन् । बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिखको कहीँकतै लिपिबद्ध भएको छैन तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा भने राखेका छन् ।

‘क्रिसमस’ इसाईहरुको सबैभन्दा ठूलो पर्व हो । यो पर्व केवल इसाईहरुले मात्रै नभएर गैर इसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै छन् । मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरुको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउँने गर्दछन् । हिन्दुहरुको महान पर्व दशैं, तिहार जस्तै इसाई धर्मलम्वीहरुले पनि महान पर्व क्रिसमस डेलाई लिने गर्दछन् । नेपालमा विभिन्न जातजाति, भाषा, धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । त्यसमध्ये आज इसाई धर्मका अनुयाईहरूले हसोल्लासका साथ क्रिसमस मनाउँदै छन् ।

इसाई धर्मलम्वीहरुले चर्चमा गई ईश्वरको पूजा गर्ने, साथीसंगीहरूसँग शुभकामना आदान–प्रदान गर्ने, नयाँ लुगा लगाउने, मिठो खाना खाने, घुम्न जाने, गीत, भजन्, नृत्यसहित क्यारोल खेल्दै क्रिसमस पर्व मनाउने गर्छन् । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरु जङ्गल गएर ठूला रुखका मूडाहरु काटेर ल्याउँने र आगनमा बालेर यो पर्व मनाउँने गरिन्छ । इस्वि संवतका अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि मनाउँने गर्दछन् । क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन्, रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरीरको साधूले सबैलाई उपहार दिने र खुशी बाँड्ने जनविश्वास रहेको छ । हाम्रो देशमा दिगो शान्ति र विकासका लागि आध्यात्मिक चिन्तन अपरिहार्य भइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update