देशभर चिसो बढेको छ । पुसको दोस्रो हप्ता आइपुग्दा चिसो अत्याधिक रुपमा बढ्दै गएको छ । अझ बढी तराई क्षेत्रमा चियो बढेको छ । शितलहर समेत तराईमा देखिन थालेको छ । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिसो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी,निमोनिया जस्ता समस्याहरुले बढी नै सताउने गर्छ । त्यसमाथि बालबालिका, वृद्ध तथा गर्भवती र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई जाडोको यो समयमा धेरै रोग लाग्ने गर्छ । जाडो याम सुरु भएलगत्तै धेरै रोगले सताउने भएकाले उनीहरूका लागि जाडो शत्रुबराबर हुन्छ । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न आग्रह गर्दै आएका छन् । जाडोमा खासगरी हातखुट्टा, अनुहार, छाला फुट्ने, फुस्रो हुने हुन्छ । यसबाट बच्न कोल्ड क्रिमको प्रयोग गर्न सकिन्छ । जाडो मौसम सुक्खा हुने भएकाले बाहिर धुलो उड्ने र जीवाणुको प्रसारण पनि छिटो हुन्छ । यस्तो अवस्थामा खानपान र रहनसहनमा समेत उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।
झोल पदार्थ खानेकुराका साथै हरियो सागपात खाँदा चिसोमा रोगले आक्रमण गर्ने सम्भावना कम हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्दछ । चिसोबाट बच्न न्यानो कपडा लगाउनुपर्छ । घाम ताप्दा पनि धेरै रोगबाट बच्न सकिन्छ । भिटामिन डिको कमी हुन नदिन घाम ताप्नु अनिवार्य नै रहेको चिकित्सक बताउँछन् । चिसो मौसममा फ्रिजमा राखेका खानेकुरा खान हुँदैन । चिसो मौसममा रुघाखोकी, निमोनिया जस्ता समस्या देखापर्न सक्छ । जाडोमा सकेसम्म तातो कुरा खाने, सुप पिउने गर्नुपर्छ । यसले शरीरको तापक्रम सन्तुलनमा राख्छ र रोग लाग्नबाट बचाउन्छ । त्यसैले रोग लाग्नु भन्दा रोग लाग्नै नदिनका लागि चिसोबाट बच्नुनै उत्तम उपाय हो । यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

