पाल्पा, तानसेनको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई उजागर गर्दै तानसेनलाई देश–विदेशमा पर्यटकीय गन्तव्यको रूपमा चिनाउने उद्देश्यसहित पाल्पा दरबार संग्रहालय परिसरमा चित्रकला तथा फोटो प्रदर्शनी सुरु गरिएको छ । तानसेन गुठी पाल्पाको आयोजनामा सुरु भएको यो प्रदर्शनी पुष ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीमा तानसेनका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक विषयवस्तु समेटिएका फोटो र चित्रकलाहरू राखिएका छन् । स्थानीय भाषा, कला, संस्कृति र भेषभूषालाई समेत चित्रकला तथा फोटो प्रदर्शनीमा महत्व पाएको छ । प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटकलाई तानसेनप्रति आकर्षित गर्ने अपेक्षा आयोजक पक्षले गरेको छ ।
फोटो प्रदर्शनी तथा चित्रकलाको अवलोकन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यस्ता प्रदर्शनीले तानसेनको इतिहास, सभ्यता र पर्यटन सम्भावनालाई प्रचार–प्रसार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । नगर प्रमुख श्रेष्ठले प्रदर्शनीले स्थानीय कला र संस्कृतिलाई संरक्षण गर्दै पर्यटनसँग जोड्दै नगरको आर्थिक गतिविधी चलायमान बनाउन सकिनेमा जोड दिए ।
तानसेन गुठी काठमाडौंका अध्यक्ष जीवनज्योती बज्राचार्यले तानसेन केवल ऐतिहासिक शहर मात्र नभई जीवन्त संस्कृति बोकेको पर्यटन गन्तव्य भएको उल्लेख गरे । तानसेन पर्यटन समितिका संयोजक सागरमान महर्जनले यस्ता सिर्जनात्मक कार्यक्रमहरूले पर्यटकलाई लामो समयसम्म तानसेनमा बस्न प्रेरित गर्ने बताउदै तानसेन नगरपालिकाले पर्यटन गतिविधीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरुलाई सबै किसिमको सहयोग रहने प्रतिवद्धता जनाए ।
तानसेन गुठी पाल्पाका अध्यक्ष शकुन्तला बज्राचार्यले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै पाल्पा मगरहरूको शासनकालदेखि सेन वंशीय शासकहरूले राज्य विस्तार गरेको इतिहास, राणाकालीन समयमा नेपालको प्रमुख प्रशासनिक केन्द्रका रूपमा रहेको तानसेनको गौरवशाली पहिचानलाई नयाँ पुस्तासम्म पु¥याउनु आवश्यक रहेको बताईन । कार्यक्रमको सञ्चालन संस्थाका सचिव संजयराज शाक्यले गरेका थिए । चित्रकला तथा फोटो प्रदर्शनीमार्फत तानसेनको इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यलाई एकै स्थानमा प्रस्तुत गरिएकाले यसले पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


