नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीतिक दलहरुलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।
सबै आप्रवासीहरूको हकहित र आत्मसम्मानलाई सुनिश्चित गर्नु यस दिवसको उद्देश्य रहेको छ । तर नेपाल सरकारले आप्रवासीहरूको मर्यादित जीवन र सम्मानपूर्ण कामको वातावरण निर्माण गर्न भने सकिरहेको छैन । विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा र मानवअधिकारका विषयमा विदेशी नागरिक भएकै कारण विभेद गर्ने गरिन्छ । यसको अन्त्य गर्न नेपाल सरकारले सम्बन्धित सरकारसँग समन्वय गर्न आवश्यक छ । आप्रवासी कामदार र तिनका परिवारलाई जात, लिंग, धर्म, वर्ण, विचार, राष्ट्रियता, उमेर, आर्थिक स्थिति, विवाह, जन्मका आधारमा भेदभाव गर्न नपाइने बताइए पनि अहिलेसम्म त्यस्तो वातावरण सिर्जना हुन सकेको छैन । यो अत्यन्त दुुखको कुरा हो । नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारले भोग्ने पीडामा कमी आउन सकेको छैन ।
नेपालमा वर्षेनी आप्रवासी दिवस मनाइए पनि उनीहरुका समस्यामा कमी आउन नसक्नु विडम्वना हो । उनीहरुका मुद्दा उठाउन, तिनको कार्यान्वयन र अनुगमन गर्न सरकार चुक्नु हुँदैन । आप्रवासनमा काम गर्ने श्रमिकलाई यथेष्ट सम्मान, सुरक्षा र उत्पे्ररणा दिन आवश्यक छ । अब कामदारले पठाएको रेमिट्यान्सको हिसाब गरेर बस्नेमात्र होइन,तिनीहरूको पुँजी, सीप, दक्षता, व्यावसायिकता र जाँगरलाई विकासको मूलप्रवाहमा लगाउने कार्यक्रम बनाउनुपर्छ । दिवस केवल मनाउनका लागि होइन, विगतको समीक्षा, भविष्यको कार्ययोजना र कामदारको अधिकार, न्याय तथा नीतिगत तहमा पहुँचको लागि हुनुपर्छ । जबसम्म आप्रवासी कामदारका मुद्दाहरू स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उठ्दैनन् र उठेका मुद्दा पनि कार्यान्वयन हुँदैनन्, तबसम्म दिवस मनाउनुले सार्थकता प्राप्त गर्दैन ।

