नेपालका सबैभन्दा पुरानो र हालका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले यतिबेला पार्टीको बहुप्रतीक्षित केन्द्रीय महाधिवेशनमा केन्द्रीत छन् । एमालेले शनिबारदेखि ११ औं महाधिवेशन गरिरहेको छ भने काँग्रेसले मिति तय गरेर महाधिवेशनको तयारीमा जुटिरहेको छ । जेन—जी आन्दोलनको दबाब राप र तापकै कारण यी ठूला दलहरु समय अघि नै महाधिवेशन गर्न बाध्य भएका छन् । जेनजी आन्दोलनबाट स्थापित वर्तमान सरकारले समेत फागुन २१ गतेको लागि प्रतिनिधि सभाको निर्वाचन मिति तोकेर तयारी अगाडि बढाइरहेको छ । दलहरू महाधिवेशन र सरकार निर्वाचन केन्द्रित हुँदा मुलुक अहिले पूरै चुनावमय भएको छ । चोकचोकमा रहेका चियापसलदेखि विभिन्न व्यावसायिक ठाउँहरूमा चुनाव केन्द्रित गफहरू सुनिन थालेका छन् ।
कुनै पनि राजनीतिक दलका लागि त्यस दलको आन्तरिक जीवनमा महाधिवेशनले अवश्य महत्व त राख्छ नै त्यो हिसावले एमाले र कांग्रेसको आन्तरिक जीवनमा पनि दलले लिने राजनीतिक फैसला र रणनीतिलगायत राजनीतिक कार्यक्रम कार्यन्वयनका लागि छनोट गरिने नेतृत्वसहितको संगठन संरचनाले अर्थ र महत्व राख्छ । महाधिवेशन दल निकट आस्था राख्ने नेता/कार्यकर्ताका लागि चासो र चिन्तनको सवाल त अवश्य बनेको छ नै, त्यसका अलावा अन्य राजनीतिक दल निकटस्थ आस्था राख्ने नेता कार्यकर्ता र स्वतन्त्र नागरिक समाजको समेत उच्च चासो र चिन्तनको विषय बनेको छ । अहिले कांग्रेस र एमालेको महाधिवेशन मुख्यरूपमा नेपालको सङ्क्रमणकालीन राजनीतिक व्यवस्थापन र उनीहरुको आन्तरिक जीवनमा देखापरेको संक्रमणकालीन व्यवस्थापनका हिसावले महत्वपूर्ण देखिन्छ । अबको राजनीतिक मिसन भनेको विकास र समृद्धिको आधार र कार्यक्रम नै हो । यसका लागि कुन राजनीतिक दलले कस्तो कार्यक्रम र कार्ययोजनासहित जनता सामु कसरी प्रस्तुत हुन्छन् त्यस राजनीतिक दलले जनमत बटुल्ने सम्भावना बलियो छ । यस्तो राजनीतिक सङ्क्रमण र रूपान्तरणको गम्भीर मोडमा मुलुक उभिएको बेला नेपालका प्रमुख राजनितिक दलहरुको महाधिवेशनले फैसला गर्ने राजनीतिक कार्यक्रम, कार्यदिशा, र कार्ययोजनाले ठूलो राजनीतिक महत्व राख्ने निश्चित नै छ । यस दृष्टिकोणबाट हेर्दा दलहरुको महाधिवेशनले तय गर्ने राजनीतिक मिसनले सिङ्गो नयाँ नेपालको परिकल्पना र चित्र दिन सके महाधिवेशनको सार्थकता रहन्छ । अन्यथा कर्मकाण्डी मात्रै नहोला भन्न सकिदैन ।

