अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस आज विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । हरेक डिसेम्बर ८ मा यो दिवस मनाउने गरिन्छ । महिनावारीका कारण किशोरी÷महिलामाथि गरिने विभेद, लाञ्छनाहरु रोक्न यो दिवस महत्वपूर्ण हुने भए पनि त्यसो हुन सकेको छैन । केही ठाउँहरुमा अझै पनि महिनावारी भएका बेला महिलाहरूलाई छाउगोठमा बस्नुपर्ने बाध्यता मात्रै छैन विभेद समेत सहनुपरेको छ । संविधानले महिलालाई विभेदरहित बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि अझै पनि अधिकांस महिलाहरु विभेदको सामाना गर्न बाध्य छन् ।
पूजापाठमा सहभागी हुने वा मन्दिर जाने त परै घरभित्रै पस्न पनि महिलालाई निषेध छ । आरामको जरुरी पर्ने यस्तो बेला घरबाहिरको काममा भने महिला लादिन विवश पारिन्छन् । यो अत्यन्त दुखको कुरा हो । बाँच्नका लागि अनिवार्य रहेका खानपान, श्वास–प्रश्वास, मलमूत्र विसर्जनजस्ता जैविक परिघटनाजस्तै प्रजननशील महिलाका लागि रजस्वला पनि शरीरको स्वाभाविक र अनिवार्य क्रिया हो । तर सृष्टि धान्ने यो चक्रलाई हाम्रो समाजले अझै पनि स्वाभाविक रूपमा स्वीकार गर्न नसक्नु विडम्वना हो । यसमा हाम्रा कतिपय धर्मशास्त्रका मान्यताहरूलाई मात्र दोष दिने ठाउँ छैन । किनभने धार्मिक आस्था पालना गर्न नरुचाउने र आफूलाई आधुनिक पुस्ताका मान्ने धेरै पुरुष नै आफ्ना पत्नी, बहिनी, छोरीलाई रजस्वलामा छोइछिटो गर्नेमा अग्रपंक्तिमा देखिन्छन् । महिनावारी भएका बेला छाउगोठमा बस्नुपर्ने भएकाले जीउज्यानकै असुरक्षा हुने, बलात्कृत हुने, मृत्यु हुने जस्ता भयावह घटनाका कारण यो परिवार वा समाजको मात्रै होइन, देशकै प्रतिष्ठासँग गाँसिएको प्रकरण बनेको छ । यसले स्त्री शरीर माथिको साँस्कृतिक उत्पीडन समाजको साझा चिन्ताको विषय हो भन्ने कुरालाई सबैले आत्मसात् गर्न आवश्यक छ । यसर्थ महिनावरीको अवस्थालाई स्वभाविक प्रक्रियाको रुपमा लिएर स्पच्छ र मर्यादित महिनावारी बनाई महिलाहरु सम्मानजनक रुपमा समाजमा बाच्न पाउने अधिकार सुुनिश्चित गर्न सकियो भनेमात्र हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको सार्थकता रहन्छ ।

