Shittalpati
किशोरकिशोरीमा ‘बृहत् यौनिकता शिक्षा’ आवश्यक

पाल्पा, किशोरकिशोरीहरुमा बृहत्त यौनिकता शिक्षा आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले औल्याएका छन् । किशोरावस्था भावनामा बहकिने, के सही र के गलत छुट्याउन नसक्ने संवेदनशील उमेर भएकाले जथाभावी बहकिन नदिन र सही निर्णय लिन सक्ने बनाउन यौनिकता शिक्षा आवश्यक रहेको औल्याइएको छ । 

 बुधबार नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजना, युएनएफपीए नेपालको सहयोग र तानसेन नगरपालिकाको सहकार्यमा भएको बृहत् यौनिकता शिक्षालाई संस्थागत गर्न बसेको सरोकारवालाको समन्वय बैंठकका सहभागीहरुले अहिलेको अवस्थामा बृहत्त यौनिकता शिक्षा आवश्यक रहेको ठहर गरेका हुन् । उनीहरुले किशोरकिशोरीलाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न यौन र यौनिकता शिक्षा जरुरी रहेको उल्लेख गर्दै यसको कार्यान्वयनमा सरोकारवाला सबै सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड समेत दिए । विद्यालयका पाठ्यक्रमदेखि कानूनमा पनि यौनिकता शिक्षालाई समावेश गरिएको भए पनि  सामाजिक मूल्य मन्यता, सामाजिक कारण लगायत व्यक्तिले आफ्नो यौनिकताको निर्णयमा स्वतन्त्र हुन नसकेकाले यसलाई कार्यान्यनको चरणमा लैजान सबै सरोकारवालाहरुबिच सहकार्य हुनुपर्ने बताइएको छ । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बृहत् यौनिकता शिक्षासम्बन्धी नेपालमा रहेका कानुनी र कार्य क्रमिक रूपमा भएका व्यवस्थाको कार्यान्वयनमा सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने बताए । उनले यौनिकता शिक्षा कार्यान्वयनमा तानसेन नगर सरकार प्रतिवद्ध भएर लागेको उल्लेख गरे । नगर प्रमुख श्रेष्ठले भने “हामीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर ठूलो लगानी गरेका छौं । तर यो सडक, पुल जस्ता क्षेत्रमा गरेको लगानीको प्रतिफल जस्तो जस्तो भर्खरको भर्खर देखिदो  रहेन छ । त्यसैले पनि हामीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको लगानी नदेखिएको हो ।” उनले सरोकारवाला निकायहरुसँग सहकार्य गरी विद्यालय तहमा बृहत् यौनिकता शिक्षा पु¥याउने प्रतिवद्धता समेत जनाए । परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक सोवाकान्त न्यौपानेले कार्यक्रममाथि प्रकाश पार्दै साथी शिक्षा र यौनिकता शिक्षाको विषयमा जानकारी गराएका थिए । उनले लिंग, लैंगिक पहिचान, लैंगिक भूमिका, आकर्षण, यौनानन्द, प्रजनन् यौनिकता आदि यौन शिक्षाका विषय भएको बताए । उनले यौनिकतासम्बन्धी ज्ञान र व्यवहारमा परिवर्तन ल्याउने प्रक्रिया यौनिकता शिक्षा भएको भन्दै अहिलेको अवस्थामा यो किशोकिशोरीहरुमा आवश्यक रहेको उल्लेख गरे । प्रबन्धक न्यौपानेले भने “यौनिकता भनेको यौन सम्बन्ध होइन, यौन सम्बन्धका बारेमा हाम्रा विचार, मूल्यमान्यता, धारणा र दृष्टिकोण हो । तर, यसलाई सभ्यता, इज्जतको नाममा खुलेर बोल्ने र छलफल गर्ने गरिँदैन ।

धेरै किशोरकिशोरी यौन विषयका बारेमा साथी, सञ्चारमाध्यम तथा अन्य माध्यमबाट थाहा पाउँछन् । तिनमा यौनका रहस्यमयी विषय मात्र देख्छन् । त्यसले फरक सूचना र मान्यता सिकाउँछ । यौनिकताको गलत बुझाइले यौन कौतुहलता झन्झन् बढाउँछ । कौतुहल बढ्दा कोही यौन हिंस्रक बन्न सक्छन् । कोही यौन हिंसाका सिकार हुन्छन् । यही कारण पछिल्लो समय किशोरीमाथि धेरै यौन हिंसा भएका घटना पनि सार्वजनिक भएका छन् । यसलाई रोक्न यौनिकता शिक्षा आवश्यक छ ।” यौनिकता शिक्षाको प्रवद्र्धन गर्न आफुहरुले स्थानीय सरकारसँग सहकार्य  गर्दै आएको उनले बताए ।  तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले यौनिकता शिक्षालाई वृहत्त ढंगले हेर्न जरुरी रहेको बताए । उनले विद्यालय तहमा यौनिकता शिक्षा, मनोपरामर्श कार्यक्रम गर्न नगर सरकार तयार रहेकाले विद्यालले त्यसको वातावरण मिलाइदिनुपर्नेमा जोड दिए । कार्यक्रममा प्याब्सन पाल्पाका अध्यक्ष डासुँराम पन्त, दमकडा माविका प्रअ मोहन सापकोटा, सरस्वती माविका प्रअं शंकर पौडेल, जनता नमूना माविका प्रअ हरी घिमिरे, महेन्द्रबोधी माविका शिक्षिका विजया पन्त, तानसेन नगरपालिकाका शिक्षा शाखा प्रमुख कोपिला न्यौपाने, नगरपालिकाका जनस्वास्थ्य  निरीक्षक चन्द्रतारा बस्याल लगायतले यौन र यौनिकता शिक्षा जरुरी रहेको उल्लेख गर्दै यसको कार्यान्वयनमा सबै सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नगर भित्रका विद्यालयहरुका शिक्षक, शैक्षिक संघसंस्था, स्वास्थ्य संस्था, सञ्चार माध्यम, जनप्रतिनधि लगायतको  सहभागीता रहेको थियो ।  तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीको अध्यक्षता,  परिवार नियोजन संघ पाल्पा शाखाका कार्यवाहक सभापति माधव अर्यालको स्वागत, संघका कार्यसमिति सदस्य कमल बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।


 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update