पाल्पा, तानसेन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो साधारणसभा मनाएको छ । २०६५ सालमा स्थापना भएको सहकारीले विविध कार्यक्रम गरी १७ औं साधारणसभा तानसेनमा मनाएको हो ।
साधारण सभाको शेयर सदस्य एवं लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै मन्त्री सारुले मुलुकको अर्थतन्त्रमा सहकारीहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पछिल्लो समय केही सहकारीका कारण समस्या आए पनि सबै सहकारी त्यस्तो नभएको उल्लेख गरे । मन्त्री सारुले भने “देशका ९५ प्रतिशत सहकारीले राम्रो काम गरेका छन् ५ प्रतिशत खराब सहकारीका कारण ९५ प्रतिशत सहकारीले गरेको राम्रो कामको पनि प्रचार हुन सकेको छैन् ।” देशको अर्थतन्त्र सुधार गर्न राज्यले ल्याएको ३ खम्वे अर्थनिती सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्य बलियो हुनुपर्नेमा शेयर सदस्य सारुले बताए । अहिले देशमा धेरै नकारात्मक टिका टिप्पणी, विरोधको नाममा विरोध, कसैको उन्नती प्रगतिमा रिस डाह गर्ने अराजक शैली बढेकाले, भएका राम्रा, सकारात्मक कामहरु समेत ओझेलमा परेकोमा मन्त्री सारुले चिन्ता व्यक्त गरे । उनले भने “अहिले समाजमा हार्दिकता, सद्भाव, माया ममता खलबलिएको छ, यो स्थिती मौलाउदै गएमा नागरिकहरुको व्यक्तिगत सम्पत्तिको पनि राज्यले सुरक्षा प्रदान गर्न नसक्ने अवस्था आई नेपालीहरुविच नै गृहयुद्धको अवस्था आउन सक्ने भएकाले सबैले कानुनको परिपालन गर्न र गराउन सहयोग गर्नुपर्ने देखिन्छ ।” कार्यक्रममा बचत तथा ऋण सहकारी संस्थाका जिल्ला अध्यक्ष जगदिश भट्टराई, शेयर सदस्य हिमा पोखरेल, विष्ण प्रसाद खनाल लगायतले सहकारीले गरेका कामहरुको बारेमा चर्चा गरेका थिए ।
२०६५ सालमा स्थापना भएको सहकारीमा १ हजार १ सय २४ जना शेयर सदस्यहरुले कारोवार गर्दै आएका छन् । शेयर सदस्यहरुको १० हजारका दरले समान पुँजी लगानी भएकाले सबैको काम कर्तव्य, अधिकार र जिम्मेवारी बराबर रहेको छ । संस्थाको शेयर पुँजी १ करोड १२ लाख ४० हजार रहेको छ । सहकारीको बचत रकम १२ करोड ७५ लाख रुपैया, ऋण लगानी १३ करोड ६९ लाख, कुल पुँजी १५ करोड ५६ लाख, कुल आम्दानी १ करोड ४८ लाख ९४ हजार, शुद्ध नाफा १५ लाख ३३ हजार, जगेडा कोष ५१ लाख ४५ हजार, अन्य कोष १ करोड ८ लाख, सहकारी विकास बैंकमा शेयर लगानी ३ लाख २१ हजार रहेको सहकारीले साधारणसभामा जानकारी गराएको छ ।
सस्थाले गत बर्षको आम्दानीबाट प्रत्येक शेयरधनीलाई यातायात बापत ५ सय, विमाबापत १ हजार र सञ्चार खर्च बापत १ हजार गरी जम्मा २ हजार ५ सय वितरण गरेको छ । संस्थामा रहेका शेयर सदस्यहरुमध्ये कसैको मृत्यु भएमा शेयर रकम बराबरको रकम १० हजार परिवारलाई हस्तान्तरण गर्दै आएको छ । सभामा सबैभन्दा बढी बचत गर्ने शारदा लक्ष्मी कार्की, उत्कृष्ट ऋणी ध्रुर्वराज घिमिरे, सबैभन्दा बढी सदस्य बनाउने शेयर सदस्य भोजराज पोखरेललाई सम्मान गरिएको छ । यसैगरी सहकारीले एसइई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्य डोलराज भट्टराईका छोरा शुलभ भट्टराई, चन्द्र प्रसाद भुसालीकी छोरी शान्ती भुसाल, कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्य देवी भट्टराईका छोरा दर्शन भट्टराई, शंकर बस्यालका छोरा शैलज बस्याल र विष्णु सिग्देलकी छोरी आयुसा सिग्देललाई सम्मान गरेको छ । कार्यक्रममा सहकारीका अध्यक्ष रामजी पोखरेलले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष दिपक विश्वकर्माले पेश गरेको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका सदस्य जिवनाथ गैरैले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित गरी आगामी बर्षको निती तथा कार्यक्रम पेश गरिएको थियो । संस्थाका अध्यक्ष भोजराज पोखरेल रामजीको अध्यक्षता, उपाध्यक्ष शान्ती बस्याल पाण्डेयको स्वागत, सचिव धनिश्वर बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।


