Shittalpati
भेडापालनमा भविष्य खोज्दै आस्मन

म्याग्दी (बेनी), यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिन्छन् । हिउँदमा बेँसी र बर्खायाममा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उनको दैनिकी हो । केही वर्षअघिसम्म रोजगारीको खोजीमा शहरमा भौतारिएका पुर्जा अहिले भेडापालनमै भविष्य खोजिरहेका छन्।

बुबा मनलाल र आमा फिस्टीका सात भाइ छोरा र एक छोरीमध्ये कान्छो आस्मनले कक्षा ९ सम्म मात्रै पढे । उनले पोखरा, नयाँपुल र बेनीमा रेष्टुरेन्टमा पनि काम गरे । ती सबै काम छाडेर उनी गाउँमै भेडापालन गर्न फर्किएका हुन् । “आफ्नै माटोमासम्भावना छन् भन्ने लागेर भेडापालन सुरु गरेको हुँ, मेरो स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई आर्थिक लगानीको जरुरी थियो, त्यही बेला कोरियामा रहेका साथी अनिल पाइजाले साथ दिए र यो सम्भव भएको हो,” पुर्जाले भने । किसानी मावि बिममा पढ्ताका सहपाठी अनिलले भेडापालनका लागि सुरुआती लगानी गरिदिएपछि आफ्नो भेडापालन गर्ने सपना पूरा भएको उनले बताए ।

भेडापालनमा करिब १३ लाख लगानी गरेका पुर्जालाई साथी अनिलले मात्रै करिब ६ लाख सापटी दिएको छभने बाँकी रकम पुर्जा आफैँले जुटाएका छन् । उनका गोठमा हाल करिब १०० भेडा छन् । भेडीगोठमा भेडाको सङ्ख्या थपिने क्रम जारी छ । यही याममा मात्र उनका करिब २५ भेडा ब्याउने तयारीमा छन् । निकट भविष्यमा भेडाको सङ्ख्या बढाएर भेडीगोठलाई आम्दानीको स्रोत बनाउने पुर्जाको योजना छ । जेठदेखि असोजसम्म जिरबाङ पिक, बुकी र मूलखर्कका हरियालीमा राखिने भेडीगोठलाई हिउँद लागेपछि भने सिङकोस गाउँ वरपर झारिन्छ । स्थानीय बासिन्दाले देवीदेवताको भाकल पूरा गर्न साँढले पूजा गर्ने चलन भएकाले भेडीगोठमा उत्पादन भएका साँढका लागि बजारको अभाव छैन । खसी भने मासुका लागि गाउँलेहरुले गोठमै पुगेर खरिद गर्छन् ।

“बुबाले पनि घुम्तीगोठमा भैँसीपालन गर्नुभएको हो, सानोमा पनि म दाइहरुसँग गोठमा बसेको थिए, आफ्नै पुर्खाको माटोमा पसिना बगाउन पाइरहेको छु,” उनले भने । पुर्जाको भेडापालनले युवाहरुले विदेशमा गएर मात्र सम्भावना खोज्नु पर्दैन, आफ्नै गाउँमा पनि अवसरहरू छन् भन्ने सन्देश दिएको स्थानीयवासी बताउँछन् । पुर्जाको बुबा ७१ वर्षीय मनलालले अझै चोयाको डोको, डालो बुन्छन् । उनका दुई छोराले बाख्रापालन, एक छोराले गोठमा भैँसीपालन गर्दै आएका छन् । एक छोराले जिप चलाउँछन् । दुई छोराले गाउँमा च्याउ, टुसालगायत बिक्री गरेर जीविकोपार्जन गर्दै आएका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update