Shittalpati
रामपुरमा स्वास्थ्य कार्यक्रमको समीक्षा

पाल्पा, जिल्लाको रामपुर नगरपालिकामा स्वास्थ्य कार्यक्रमको समीक्षा गरिएको छ ।  नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वार्षिक समीक्षा गरिएको हो  ।

नगर भित्रका १६ वटा स्वास्थ्य संस्था, रामपुर अस्पताल र स्वास्थ्य शाखाबाट आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेका कामको समीक्षा गरिएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य संस्था र शाखाले एक वर्षको अवधिमा सञ्चालन गरेका कार्यक्रम र प्रदान गरेका सेवाको समीक्षा  गरिएको छ । कार्यक्रममा भौतिक अवस्था, पोषण कार्यक्रम, गर्भवती महिलाको अवस्था र पोषण,विभिन्न औषधीको उपलब्धता र वितरण, मातृ तथा नवशिशुको स्वास्थ्य अवस्था लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागीले भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको र केही बालबालिका र शिशुमा कडा कुपोषण फेला परेकाले यसको न्यूनीकरणका लागि ध्यान दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नगर प्रमुख रमणबहादुर थापाले समुदायमा आधारित रहेर स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक रहेको बताए । उनले गाउँका असहाय असक्त र वृद्धवृद्धाका लागि  घर–घरमै पुगेर सेवा दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । समुदाय बेसमा रहेर सहज स्वास्थ्य सेवा प्रदान गर्न सके मात्र सेवा प्रभावकारी हुने उनको भनाई छ । साथै पछिल्लो केही वर्ष यता सर्ने रोग भन्दा नसर्ने रोगका विरामीको संख्यामा वृद्धि हुनु चिन्ताको विषय भएको भन्दै यसमा गम्भीर हुन आवश्यक रहेको नगर प्रमुख थापाले बताए

अव्यवस्थित खानपान र जीवनयापनका कारण नसर्ने रोग लागेका विरामीको संख्यामा वृद्धि भएको भन्दै यसका लागि सबै स्वास्थ्यकर्मीहरुले समुदायस्तरमा सचेतना फैलाउन आग्रह समेत गरे । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका  क्षयरोग तथा खोप अधिकृत विश्वनाथ न्यौपानेले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले उपचारात्मक भन्दा प्रवद्र्धनात्मक स्वास्थ्य सेवा दिन आवश्यक रहेको बताए । साथै सेवाको गुणस्तरमा ध्यान दिनु पर्ने भन्दै जनप्रतिनिधि र सरोकारवालाको ध्यान पुग्न जरुरी रहेको उनले उल्लेख गरे । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको स्वागत, नर्सिङ अधिकृट्ट पुनम धितालको सञ्चालनमा कार्यक्रम भएको थियो  ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update