
नेपालीहरुको महान पर्व वडादशैको शुभारम्भ सँंगै समापन हुने बेला सम्म पनि एक साता देखि देशका बिभिन्न स्थानमा परेको बर्षाका कारण अत्यान्तै ठुलो धनजनको क्षति भएको छ । निरन्तर झरीका कारण आकाश रित्तिएला जस्तो वर्षासँगै पहाडहरु खल्किएका छन् । तराई डुवानले चुर्लुम्म छन् । खेतहरु डुवे, सडक छिया छिया भएका छन्, पुलहरु भाँसिएका छन् । गाउँ र शहरका कतिपय वस्तिहरु पहिरोले पुरिए र वाढीका कारण डुवानमा परे । सरकारले कडाइका साथ सर्तकता अपनाएका कारण तुलनात्मक रुपमा मानवीय र भौतिक क्षति भने कम हो ।
चितवनदेखि सिन्धुपाल्चोक,रामेछाप, मकवानपुर र नुवाकोटसम्म वर्षाले आक्रोश पोख्यो । नदी–खोला उफ्रिए, बस्ती बिस्थापित भए । सयौँ परिवार रातारात घरबास बिहीन बने, धानबाली र तरकारी बगाएर किसानलाई ऋणमाथि थप बोझ थपियो । यो केवल प्राकृतिक प्रकोप थिएन, यो हाम्रो तयारीको कमजोरीको कठोर स्मरण पनि हो । विपतका पुर्वानुमानलाई आँकलन गरेर हामीले क्षति न्यून गर्ने बिषयमा वातावरणीय सन्तुलनलाई कायम राख्न सकेनौ, हामीले प्रकृतिको दोहन गर्ने कार्य रोकेनौ भने यस्ता प्रकोपहरु वर्षेनी भई रहन्छन् भन्ने कुरालाई ध्यानमा राख्नुपर्ने हाम्रो सामुहिक दायित्वलाई कहिल्यै पनि विर्सनु हुदैन । हरेक वर्ष पानी पर्नु मात्र होइन, पानीसँगै बाढी र पहिरो आउँछ, भन्ने कुरा हामीले थाहा पाएर पनि पूर्वतयारीका पक्षमा हामी अझै असहाय देखिन्छौँ । सरकारले उद्धार सामग्री पठायो, स्थानीय तहले पीडितलाई अस्थायी आवास र खाद्यान्न उपलब्ध गराए, तर मूलसमस्या समाधानतर्फ ठोस कदम चाल्ने अवस्था अझै बनेको छैन् । मौसम पूर्वानुमान प्रणाली अझै कमजोर छ, जोखिमग्रस्त बस्ती सार्ने नीति कागजमै छ, र नदी–खोला व्यवस्थापनका योजना बजेट अभावमा थाती छन् । अब सरकारले केवल राहत बाँडेर जिम्मेवारी टार्ने होइन, दीर्घकालीन दृष्टिकोण र योजनाद्ध सोंच बनाउनुपर्ने हुन्छ । पहिरो जोखिम क्षेत्रमा बसोबास गरिरहेकाहरूलाई सुरक्षित ठाउँमा सार्ने, पहाडी सडक निर्माणमा वैज्ञानिक प्रविधि,जैविक विविधताका साथै वातावरणीय संरक्षणमा ध्यानुपर्ने हुन्छ । यसका लागि सरकारको मात्रै मुख ताकेर मात्रै हुदैन्, हामी सबैको सामुहिक प्रयास आवश्यक छ । नदी तटीय संरक्षण बलियो बनाउने, मौसम पूर्वानुमान र चेतावनी प्रणालीलाई आधुनिक उपकरण सहित ग्रामीणस्तरमा पुर्याउने कार्य गर्न अब ढिला गर्न हुदैन । अनि मात्र प्राकृतिक प्रकोपबाट वच्न सकिन्छ, सुरक्षित समाज निर्माणमा सहयोगी बन्न सक्छौ ।