
बहुसंख्यक नेपालीले मनाउने दसैं, तिहार तथा छठ जस्ता चाडपर्व घर आगनमा आइसकेका छन् । यस्ता पर्वको सामाजिक र धार्मिक पक्षका अतिरिक्त परिवारजनसँगको भेटघाट पनि मुख्य हिस्सा हुने गरेको छ । त्यसैले रोजगारीका लागि विदेश पुगेका हुन वा रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि नै किन नहोस् सबै जना चाडपर्व मनाउन आ–आफ्नो घर फर्कदै छन् । यस्तो बेला आफ्नो थलो पुग्ने हतार हुनु स्वाभाविकै पनि हो । त्यसैले त यतिबेला कोही यात्राका क्रममा बाटोमा छन् भने कोही यात्रा गर्ने तरखरमा छन् । कतिपय अझै टिकटको जोहो गर्दैछन् भने कतिपयचाहिँ चिनजानका तथा आफन्तको सवारीमा ‘लिफ्ट’ कुरेर बसेका छन् । तर, यो उत्साह र हतारबीच अप्रिय घटना नहोस् भन्नेबारे भने सदैव सचेत रहनु आवश्यक छ ।
यस्तो बेला सडक दुर्घटना बढी हुने गर्दछन् । कतै खाल्डा, कतै धुलाम्य सडकले सवारी साधन मात्र होइन ति सडकमा यात्रा गर्ने यात्रुहरु समेत प्रभावित भएका छन् । सडकको दूरावस्थाको कारण सडकमार्गको यात्रा अत्यन्तै कठिन बन्ने गरेको छ । धेरैका लागि दसैँमा गाडी नपाइएला कि, पाइएपनि समयमा र सुरक्षित रूपमा नपुगिएला कि भन्ने चिन्ता रहेका बेला सडकको दुरवस्थाका कारण भने पिरोलिन बाध्य बनाएको छ । यो अत्यन्त दुःखको कुरा हो । सडकमा खाल्डाखुल्डी भए पुरेर, एकतर्फी मात्र रहेका ठाउँमा दुईतर्फी आवागमन मिलाएर चाडपर्वमा सकेसम्म सहज रूपमा गाडी सञ्चालन हुने व्यवस्था मिलाउनु अहिलेको आवश्यकता हो । सवारी चाप अत्यधिक हुने दसैँ–तिहारजस्ता डपर्वका बेला सडककै कारण ट्राफिक व्यवस्थापन जटिल बन्ने गर्छ । सडकमा सहज आवागमन भइरहोस् भनेर सरकारले सडकको मर्मतसम्भार नियमित रूपमा गर्नुपर्ने हो तर त्यस्तो पाइँदैन । आम जनमानस दिनहुँ हिँडडुल गर्ने व्यस्त सडकको सामान्य सुधार गर्न पनि सरकार उदासीन हुनु विडम्बनाको हो । साँघुरो सडक र अव्यवस्थित सवारी साधनका असुरक्षित सडक हुँदा बेला–बेला दुर्घटनाहरू भइरहन्छ । त्यस्ता दुर्घटनाले मानवीय तथा भौतिक क्षति बढिरहेको छ । सडक साँघुरो हुनु र सडक सुरक्षा नहुँदा यस्ता घटनाहरू धेरै हुँदै आएका छन् । दुर्घटना नहोस् भन्नका लागि समेत सडकलाई दुरुस्त राख्नुपर्छ । पर्वका बेला पहिरो वा अन्य कुनै कारणले सडक अचानक अवरुद्ध हुन जाँदा धेरै यात्रु अलपत्र पर्न सक्ने भएकाले आवागमन तत्काल खुलाउने गरी प्रवन्ध मिलाउन पनि आवश्यक छ । यसो भएमात्र दसैं सबैका लागि साँच्चै दसैं नै हुनेछ । हैन भने कतिपयका लागि दसैं दशामा परिणत हुने खतरा छ । त्यसैले यो अवस्थाबाट मुक्तिका लागि बेलैमा सचेत होऔं ।