Shittalpati
प्राथमिक उपचार दिवसको सार्थकता

प्राथमिक उपचार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पु¥याउनु अघि गरिने उपचारलाई बुझिन्छ । प्राथमिक उपचार भनेको प्रथम उपचार अथवा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ । 

दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुँचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो । प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रूपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ । नेपालमा पनि हरेक वर्ष सयौं जनाले सडकमा हुने दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । दुर्घटनामा घाइते बन्न पुगेकाहरूलाई सामान्य प्राथमिक उपचार प्रदान गर्ने हो भने पनि उसको ज्यान जोगिने सम्भावना बढेर जान्छ । सानादेखि ठूलासम्मका दुर्घटनामा घाइते हुन पुगेकालाई प्राथमिक उपचार दिने हो भने उसको ज्यान जोगाउन पनि सहज हुन्छ । प्राकृतिक विपत्तिदेखि दुर्घटनाको अवस्थामा मानिसहरू निकै आत्तिने, र जसोतसो अस्पताल पु¥याउन हतारो गर्दछन् । यस्तो प्रवृत्तिले कतिपय अवस्थामा विरामीको ज्यानै जानेदेखि उपचार प्रक्रिया निकै जटिल पनि हुन सक्दछ । त्यसको बदलामा घटनास्थलमा उपलब्ध मानिसले घटनास्थल र विरामीको राम्रो मूल्यांकन गरी जति सक्दो छिटो प्राथमिक उपचार दिनुपर्दछ । यसो गर्न सकियो भने मात्र प्राथमिक उपचार दिवस मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update