Shittalpati
सिँचाइको व्यवस्था गर

देशका अधिकांस स्थानमा अझै पनि सिचाइँ अभावका कारण धान रोपाइँ हुन सकेको छैन । पहाडी क्षेत्रमा पानी परेकाले रोपाइँ गरिएको छ । तर, मुलुकको अन्न भण्डार भनिने तराई–मधेसमा पानी समयमै नपर्दा धेरै रोपाइँ हुन सकेको छैन । लामो खडेरीका कारण किसानले समयमै रोप्न नपाउँदा यस वर्ष उत्पादन कम हुनेमा चिन्ता व्यक्त गरेका छन् । जल सम्पदामा विश्वकै धनी देशमा गनिएर पनि किसानले त्यसको उपयोग गर्न नपाउनु दुर्भाग्य हो । भू–वनावटका आधारमा र बहुसंख्यक बासिन्दाको आम्दानीको मुख्य स्रोत भएका कारण नेपालका लागि कृषि कर्म निर्विकल्प र मुख्य पेशा हो । तर, कृषि कर्मका लागि आवश्यक पर्ने स्रोत, साधन, बजार तथा वितरणको अभाव र अव्यवस्थाले अहिले यो ऐच्छिक जस्तै बनिएको छ । त्यसकै कारण अधिकांश युवा जनशक्ति वैदेशिक रोजगारप्रति आकर्षित हुँदै गएका छन् । प्रत्येक वर्ष यो संख्या बढ्दै जाँदा हाम्रा गाउँ, बस्तीहरु आश्रित जनसंख्याको आश्रित स्थल बन्न थालेको छ । गाउँबस्तीहरु जन्ती–मलामी नभेटिने अवस्थामा पुग्नु भनेको नेपालीको गौरवका रुपमा रहेको स्वावलम्बीपन हराउनु हो । यसले नेपालीलाई परावलम्वन बनाउँदै पराधीन बनाउने जोखिम बढेर गएको छ । आफूलाई पु¥याएर छिमेकीहरुलाई ‘पाल्ने’ हाम्रो पुर्खाको गाथा अब दन्त्यकथा जस्तै हुन थालेको छ ।

सरकारले प्रत्येक वर्ष सिँचाइ सुविधा पु¥याउने भन्दै अर्बौं रुपैयाँ बजेट विनियोजन गर्छ । मुलुकभरिलाई हेर्ने हो भने सरकारले एक दर्जनभन्दा धेरै ठूला सिँचाइ आयोजनाहरू बनाइरहेको छ । यसमध्ये केही ठूला सिँचाइ आयोजना सञ्चालनमा आएका छन् । केही वर्षौं हुँदा पनि पूरा हुन सकेका छैनन् । ठूला सिँचाइबाहेक ससाना सिँचाइ आयोजनाहरू पनि देशभर नै छन् । सिँचाइ सुविधा विस्तार गर्न सरकारले ठूला सिँचाइ आयोजना निर्माण गर्ने जिम्मेवारी संघीय सरकारलाई दिएको छ । यस्तै सातै प्रदेशमा सिँचाइ डिभिजन कार्यालयहरू खडा गरिएका छन् । यी कार्यालयले साना स्केलका आयोजनाहरू निर्माण गरिरहेका छन् । स्थानीय तहहरूले पनि सिँचाइका लागि कुलो निर्माण गर्न बजेट खर्च गरिरहेका छन् । यी सबैका बाबजुद पनि कुल धानखेती लगाउने जग्गामध्ये धेरैमा सिँचाइ सुविधा पुग्न सकेको छैन । किसान धानबाली लगाउन आकाशे पानीमा निर्भर छन् । यो विडम्बना कायम रहेसम्म बर्खे धान रोपाइँ गर्न किसानलाई आकाशतर्फ हेर्नुको विकल्प छैन । तसर्थ सरकारले सिचाइँ नपुगेका क्षेत्रहरुका तत्काल सिचाइँको व्यवस्था गर्न तर्फ सरकारले ध्यान  दिन  जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update