पाल्पा, महिलाले बाजा बजाएर आम्दानी गर्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर तानसेनका महिलाहरुले बाजा बजाएरै मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको तानसेन नगरपालिका– १० तेल्घाका महिलाहरुले बाजा बजाएर लाखौं कमाउने गरेका हुन् ।
यहाँका महिलाहरु समूहमा आवद्ध भई संस्कृतिको संरक्षणसँगै व्यवसायिक रुपमा बाजा बजाउने काम गर्ने गर्दछन् । ३ बर्ष अघिदेखि बाहुन समुदायका महिलाहरु मिलेर बाजा बजाउने काम गर्दै आएका छन । महिला बाजा समुहले एउटा कार्यक्रमको १५ हजार देखी ६० हजार सम्म सम्म पारिश्रमिक लिने गरेका छन् । बाजा वाार्षिक रुपमा समुहमा प्रति व्यक्ति तीन लाख सम्म आम्दानी हुने गरेको बाजा समुहकी अध्यक्ष ६० वर्षीया तारादेवी बस्यालले बताईन् । घरधन्दाको कामले मात्र जीवन विताउन कठिन भएपछि गाउँका महिलाहरुले सरसल्लाह गरेर बाजा बजाउन सिकेको उनको भनाई छ । बाजा बजाउने टिमको नेतृत्व हजुर आमा पुस्ताकी उनै बस्यालले गर्दै आएकी छन् । उनलाई साथ दिएकी छन् ६० बर्षीया कमला बस्यालले । उनीहरुमा उमेर घर्केको महशुस नै छैन । युवाको जस्तै जोश जागर साहस र हिम्मतका साथ सामाजिक चुनौतीहरुलाई चिर्दै बाजा बजाउने काममा उनीहरु सक्रिय छन् । उनीहरुसँगै मञ्जु पन्थी, मन कुमारी न्यौपाने, भगवती भुसाल, तारा भट्टराई, सुष्मा बस्याल, सविता अधिकारी, खुमा पंगेनी, मञ्जु कंडेल, मिरा न्यौपाने र निरला शर्मा सहित १२ जना महिलाको टोलीले बाजा बजाउदै आएका छन् । पाल्पाका अधिकाश, कार्यक्रम, विवाह, महोत्सव, बार्षिक उत्सवदेखी विभिन्न मेला समारोहमा महिला बाजाको माग बढेपछी उनीहरुमा भ्याई नभ्याई छ । बाजा बजाउने महिलाहरुले एउटै पोशाक बनाएका छन् । महिलाले धंकुरी कर्नाल, सनाई, मर्चु·ा, बजाउँछन्, दमाहा, ढोलक, ट्याम्को, झ्यालीले सबैलाई आकर्षित बनाउने गरेको छ । उनीहरुका बाजा जिल्ला भित्र मात्र होइन, गुल्मी र अर्घाखाँची रुपन्देही, स्याङ्जासम्म चर्चित बनेका छन् । बाजा बजाउँदा सबै तिरबाट हौसल्ला मात्रै पाएका छैनौं आम्दानी समेत राम्रै भएको समुहकी उपाध्यक्ष कमला बस्यालले बताईन् ।
शुरु शुरुका दिनमा बाजा बजाउने काममा ब्राहमण समुदायका महिलाहरु लागेको भन्दै विभिन्न ठाउँ–ठाउँमा कुरा काट्ने गरेको उनी सम्झन्छिन् । उनी भन्छिन् “मानिसले कुरा काटे पनि वेवास्ता गर्दै शुरु गरेको काम छोड्नु हुँदैन भनेर निरन्तर लागेकै कारण बाजा बजाउन सफल भएका छौं ।” पेशा प्रति खुसी र सन्तुष्टि मिलेको बस्याल बताउन्छिन् । निरन्तर मिहेनत र संघर्षको कारण अहिले तानसेन पाल्पाको महिला बाजा भनेर चर्चा कमाएका छन् । चर्चासँगै राम्रो आम्दानी, घरपरिवारको साथ र सहयोग भएपछि महिलाहरुमा काम प्रति हौसल्ला बढेको समुहकी कोषाध्यक्ष मञ्जु पन्थीले बताईन । परिवार, समाज र सरकारको सहयोगकै कारण तानसेनका महिलाहरु जोश, जागर र उस्ताह बढेको छ, जसको कारण बाजाको माध्यमबाट महिलाहरुको आयआर्जनको बलियो माध्यम बनेको छ ।