
कोदो नेपालको धान, मकै र गहुँपछिको चौथो बाली हो । यसलाई पहाडी भेगमा मकै पछिको दोस्रो बाली मानिन्छ । कोदो पौष्टिकताको हिसाबले विश्वको महत्वपूर्ण बाली हो । थोरै खाएर पनि पेट भरिने र धेरै पोषण तत्व प्राप्त गर्न सकिने बालीको रूपमा कोदोलाई लिइन्छ । यसको खेती कम मलिलो तथा सुख्खा जग्गामा गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा कोदो खेती गर्न सकिन्छ । कोदोबाट ढिंडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो । भाते बानीको संस्कृतिमा हुर्केको हाम्रो गाउँ समाजमा कोदोलाई नेपालीको भान्छामा पनि कम महत्व दिने गरेको पाइन्छ । तर पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ । महत्व र उपयोगिता बढ्दै गए पनि खेती गर्ने प्रचलन भने घट्दै गएको छ ।
विगतमा पहाडमा खेती हुँदैआएकामा केही वर्षयता ती भेगका किसानले यसलाई खासै महत्व नदिएका कारण हराउँदै जान थालेको छ । एक दश अघिसम्म पाल्पाका गामीण भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो । बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो । तर अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको छ । ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले बाँझिँदै गएका छन् । नेपाल कृषि प्रधान देश हो । तर पनि सरकारले रैथाने र लोपउन्मूख अवस्थामा रहेको कोदो खेतीको सरंक्षणमा भने ध्यान दिएको देखिदैन । देश संघीय संरचनामा गइरसकेपछि स्थानीय, प्रदेश र संघीय सरकारले कृषिका विभिन्न नारा दिएका छन् । तिनले किसान र कृषिको पनि उत्तिकै कुरा गरेका छन् तर परम्परादेखि हुँदै आएको कोदो खेती विस्तारमा कसैको पनि ध्यान पुग्न सकेको छैन् । पछिल्ला वर्षमा कोदो खेती हराउँदै जान थालेपछि सरकारले राष्ट्रिय कोदो दिवस मनाउन थालेको छ । गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले हरेक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेसँगै शुक्रबार दिवस मनाइएको छ । तर, मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदोलाई भने उपेक्षामा राखिएको छ । यसर्थ लोप हुन लागेको कोदोको महत्व बढ्दै गएकाले यस खेतीको संरक्षण र प्रवद्र्धनमा तीनै तहकार सरकारले ध्यान दिन जरुरी छ ।