
विश्व स्तनपान सप्ताह आजदेखि नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरूपमा मनाइँदै छ । विश्व स्तनपान दिवस हरेक वर्ष अगस्ट १ देखि ७ सम्म सप्ताहव्यापीरूपमा मनाइन्छ । यो सप्ताहको मुख्य उद्देश्य स्तनपान र यसको महत्वका बारेमा जनचेतना फैलाउनु, वकालत गर्नु र प्रभावकारी ढंगले आमाहरुको स्तनपान गर्ने बानी–व्यवहारमा परिवर्तन ल्याउनु हो । आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । आमा र बच्चामा हुने विभिन्न फाइदाहरुलाई मध्यनजर गर्दै सन् १९९० मा युनिसेफ, विश्व स्वास्थ्य संगठन तथा वल्र्ड अलाएन्स फर ब्रेस्टफिडिङ एक्सनको सहयतामा इनोसेन्टी धोषणा गरिएको थियो । उक्त घोषणा पश्चात् सन् १९९२ देखि विश्व स्तनपान सप्ताह मनाउन थालिएको हो । यो एक वार्षिक उत्सव पनि हो । जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढवा दिने लक्ष्य लिएर आएको यस साताव्यापी उत्सवको उद्देश्य नयाँ आमाबुबाहरूबिच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो ।
बच्चा जन्मेको जति सक्दो छिटो वा एक घण्टाभित्र स्तनपान गराउनु, पूर्ण स्तनपान अर्थात् ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र चुसाउनु र बच्चा ६ महिना पूरा भएपछि थप पौष्टिक आहारा सुरु गरी कम्तीमा दुई वर्षसम्म आमाको दूध पनि खुवाइराख्नु स्तनपानको मूल सन्देश हो । तर पछिल्ला वर्षहरूमा शिक्षित र सहरिया आमाहरू नै स्तनपान गराउने मामिलामा उदासीन देखिन थालेका छन् । यो अत्यन्त दुखको कुरा हो । सरकारले हरेक वर्ष जनचेतनामूलक कार्यक्रम आयोजना गर्छ, तर पर्याप्त जानकारी पाएका सचेत आमाहरू नै नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्काको देखासिखी, विभिन्न भ्रामक विज्ञापनको प्रभाव र आफ्नै अहंले गर्दा पनि जानी–जानी शिक्षित मानिएका आमाहरू नै सन्तानको स्वास्थ्यमा ध्यान दिँदैनन् । एक ब्यक्ति स्वस्थ हुन उसलाई विभिन्न सामाजिक, आर्थिक, शैक्षिक, सँंगै पौष्टिक आहारको विशेष भूमिका रहेको हुन्छ । प्रत्येक आमाहरुलाई स्तनपानका सहि तरिका र फाइदाहरु बुझाउन सके पाँच वर्ष मुनिका बालबालिकाहरुमा हुने बिरामी र मृत्युदर कम गर्नुका साथै भविष्यमा हुन सक्ने स्वस्थ समस्याको न्यूनीकरण गर्ने सरल, सजिलो र कस्ट इफेक्टिभ समाधान हुन्छ । तसर्थ आमाहरुलाई स्तनपानको महत्व र फाइदाका विषयमा बुझाउन सके मात्र स्तनपान सप्ताहले महत्व राख्दछ ।