
आज साउन पन्ध्र अर्थात् खिर खाने दिन । आजको दिनलाई कृषिपर्वका रूपमा पनि मनाइने गरिन्छ । सामान्यतया धान रोपाइँ सकिने हुँदा हिलोमा काम गरेको चिसोको असर मेट्न यस दिन खिर खाने नेपाली चलन रहिआएको छ । दूधमा मरमसलालगायतका चिजबिज हालेर बनाइने खिरले हाम्रो शरीरमा ऊर्जा पैदा गर्छ । यसबाट मानव स्वास्थ्यमा राम्रो हुने भएकाले खिर खाने परम्परा चलेको विश्वास गरिन्छ । नेपालमा प्राचीन कालदेखि खिर एक उत्कृष्ट खाना हो । आयुर्वेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । यसदिन खिर खाएमा शुभ हुने मान्यता रहेको छ । यस महिनामा वर्षा हुने र विभिन्न किसिमका रोग लाग्ने र बिरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनका लागि खिर खाने चलन रहेको पाइन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ । वर्षायाममा विभिन्न संक्रमण भई रोग लाग्ने गर्दछ । त्यसैले रोग नलागोस् र संक्रमण नहोस्, थकान् नलागोस्, फुर्ति बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ । गर्मी महिना भएको कारणले शरीरमा दाद, खटिरा, घाउ, लुतोजस्ता रोगले दुःख दिने गरेको पाइन्छ । यी यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन साउन महिनामा दूध र दूधजन्य पदार्थको बढी नै सेवन हुने गरेको पाइन्छ ।
प्रत्येक वर्ष आउने आजकै दिनलाई विशेष महत्वका साथ लिने गरिन्छ । असार–साउनको महिना सदैव किसानहरुका लागि गौरव र प्रतिष्ठाको विषय पनि हो, जुन जीवनको आधारकै रुपमा अघि बढेको पनि छ । असार १५ र साउन १५ लाई दहीचिउरा र खिरको सांस्कृतिक बिम्बले समेत बाँधेको छ । कृषकले धान रोपेर काम सकेपछि खुशियाली स्वरूप खिर खाने परम्परा आफैमा राम्रो हो । तर बेलैमा पानी नपर्नु र पानी परेर समयमै धान रोपे पनि त्यसपछि पानी नपर्ने समस्याले भने कृषकलाई अलि नमजा भने लाग्ने नै गर्छ । यस वर्ष पनि अधिकांश स्थानमा पानी नपरेकै कारण खेतहरु धजा–धजा भएका छन् । हरेक वर्षमा जस्तै यसवर्ष पनि साउन १५ लाई लिएर देखिनुपर्ने सरोकार र चासोमा भने निकै कमी आइरहेको पाइए पनि यो दिनले बोक्ने सन्दर्भ भने ओझेल पर्न सक्दैन । घरमा परिवार र साथीभाइहरु मिलेर रमाइलोका साथ खिर खाँदै रमाउने र आनन्द लिनुले नेपाली संस्कृति र मौलिकताको संरक्षणलाई निरन्तरता दिएको मानिन्छ ।