
पाल्पा, गर्मी बढेपछि तराई क्षेत्रका विद्यालयहरु बन्द हुन थालेका छन् । रुपन्देही र कपिलवस्तुमा गर्मी बढेपछि विद्यालय बन्द गर्न थालिएको छ ।
रुपन्देहीको सिद्धार्थनगरमा गर्मी बिदा दिइएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नगरभित्रका सामुदायिक, निजी तथा धार्मिक विद्यालयमा बिदा दिन निर्देशन दिएको हो । गर्मीका कारण विद्यार्थी बिरामी परेको गुनासो आइरहेपछि वर्षे/हिउँदे बिदाबाट कट्टी हुने गरी साउन ११ गते देखि १३ गतेसम्म बिदा दिन आग्रह गरेको छ । चलिरहेको परीक्षा भने नरोक्ने नगरपालिकाले जनाएको छ । कपिलवस्तु नगरपालिका र बाणगङ्गा नगरपालिकाकाले पनि विद्यालयमा गर्मी बिदा दिएका छन् । तराई क्षेत्रमा गर्मी बढ्दै गएपछि मंगबारसम्म गर्मी बिदा दिएको हो । गर्मीका कारण बालवालिकाहरुको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकूल असरलाई विचार गर्दै बिदा दिइएको कपिलवस्तु नगरपालिकाले जनाएको छ । केही दिन यता बढ्दो अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको अवस्थामा बालबालिकाहरुको स्वास्थ्य अवस्थामा पर्ने सक्ने प्रतिकूल असरलाई विचार गर्दै बाणगङ्गा नगरपालिकाले तीन दिन बिदा दिएको छ । मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको विद्यार्थीहरुले बताउने गरेका छन् । ‘गर्मीले पढ्नै सकिँदैन, दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ । बेञ्चमा बस्नै गाह्रो हुन्छ । डेक्स र बेञ्च पनि तातेका हुन्छन्’ सिद्धार्थको दिव्यज्योतिमाा कक्षा ८ मा अध्ययनरत विवेक खत्रीले भने । दिउँसोको समयमा पटकपटक बिजुली जाँदा विद्यार्थीलाई अझ बढी समस्या हुने गरेको छ । दिउँसोको समयमा एकदमै गाह्रो हुने, छटपटी हुने र निद्रा लाग्ने गरेको विद्यार्थीहरुको गुनासो छ ।